सत्तारुढ नेकपाको आन्तरिक विवादः आज पुन: दुई अध्यक्षबीच छलफल हुँदै

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि आज सोमबार दुई अध्यक्षबीच छलफल हुने भएको छ । सोमबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने भएको हो ।

प्रधानमन्त्री ओलीलाई दुबै पदबाट हटाउनु पर्ने सचिवालयका सदस्यहरुले माग राखेपछि शुरु भएको विवाद लामो समय गुज्रिदा समेत समाधान हुन सकेको छैन । ओलीलाई पदबाट हटाउन प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले माग गर्दै आएका छन् ।

तर ओली दुबै पदबाट नहट्ने अडानमा छन् । प्रचण्ड–माधव समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय ओली खेमामा लागेपछि नेकपाको समीकरण फेरबदल भएको छ । यद्यपि, यो समूहले आफ्नो पक्षमा बहुमत दावी गर्दै आएको छ ।

यस अघि आइतबार पनि वरिष्ठ नेताद्वय नेपाल र खनालसमेतको उपस्थितिमा अध्यक्षद्वयबीच छलफल भएको थियो । निकास भने निस्कन सकेको छैन । दुई अध्यक्ष बिच सहमति नहुँदा स्थायी समिति बैठक तथा सचिवालय बैठक समेत बस्न सकेको छैन ।

सोमबार दुई अध्यक्षबीच कुरा मिलेको खण्डमा स्थायी समिति बैठक तत्काल बोलाएर महत्वपूर्ण विषयमाथि छलफल हुने नेकपा निकट श्रोतले बताएको छ ।