गुणस्तरीय शिक्षामा जोड दिँदै सुदूरपश्चिमकाे युनाइटेड एकेडेमी

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित



युनाइटेड एकेडेमी सुदूरपश्चिम प्रदेशकै गौरव गर्न लायक स्कुल हो । यो स्कुल यस क्षेत्रकै एउटा उत्कृष्ट नमुना संस्थागत विद्यालयको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएको छ।

‘पूर्ण जीवनयापनको लागि शिक्षा’ भन्ने नाराका साथ कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा–१ मा विसं २०६० सालमा यो स्कुलको स्थापना भएको हो । स्थापनाको डेढ दशकको इतिहास बनाएको युनाइटेड टीकापुर क्षेत्रका प्रवुद्ध समाजसेवी तथा शिक्षाप्रेमीद्वारा संचालित छ । प्ले ग्रुपदेखि प्लस टूसम्म पढाइ हुने यस विद्यालयमाले देशका लागि थुप्रै आदर्शवान् नागरिक तयार पारिसकेको छ।

विद्यार्थीको लुकेको प्रतिभा प्रष्फुटन गर्न विद्यालयले समय–समयमा विशेष क्रियाकलापहरु आयोजना गर्दैआएको छ । युनाइटेड एकेडेमी क्रिकेट क्लब, युनाइटेड आइडल, युनाइटेड एकेडेमी डान्स प्रतियोगिता यसका उदाहरण हुन् । विद्यालयले विद्यार्थीमा नैतिकता, चरित्रवान् तथा विश्व भाइचाराको भावना प्रष्फुटन गर्न विशेष जोड दिने गरेको जनाएको छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने कदापि हुनु हुँदैन भन्ने विद्यालयको मान्यता छ।

विद्यालयमा हाल १ हजार ४ सय जना विद्यार्थी पढ्छन् । यति ठूलो संख्यामा विद्यार्थीको आकर्षण रहेको यो स्कुल पढ्न कैलालीबाहेक बाहिरी जिल्लाहरुबाट पनि विद्यार्थी आउने गरेका छन् । विद्यालयको छात्राबासमा १ सय ८ जना विद्यार्थी छन् । विद्यालयमा ५१ जना शिक्षक शिक्षिकाले अध्यापन गराउँछन् भने १६ जना कर्मचारी कार्यरत छन्।

विद्यालयका सुविधा :

युनाइटेड एकेडेमीको व्यवस्थित सुविधासम्पन्न आफ्नै पक्की भवनहरु छन् । ब्लक ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ वटा भवन साथै छात्रवासको लागि चारतले व्यवस्थित पक्की भवन छ । शुद्ध खानेपानी, शौचालय, कम्प्युटर ल्याब, पुस्तकालयको राम्रो व्यवस्था रहेको छ । यस विद्यालयले टाढाका विद्यार्थीको लागि स्कुलबसको व्यवस्था गरेको छ । पर्याप्त खेलमैदान सफा क्यान्टिन, कक्षाकोठामा सीसी टिभी क्यामेरा लगायत विद्यालयका थप आकर्षण हुन् ।

गौरव गर्न लायक :

स्थापनाकालदेखि नै यस विद्यालयले समाजलाई योगदान दिँदै आएको छ । टीकापुरभित्र निजी लगानीमा सम्पूर्ण सुविधासम्पन्न भौतिक संरचना भएको यो पहिलो विद्यालय हो । यो विद्यालय आफ्नो उद्देश्य र लक्ष्यमा अटल छ । यस विद्यालयबाट उत्तीर्ण विद्यार्थीले उच्च शिक्षामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै विभिन्न रोजगारमा पनि आवद्ध भएका छन् । २०७३ सालमा यस विद्यालयबाट एसइईमा सुदूरपश्चिप्रदेश प्रदेशमै उत्कृष्ट अंक आयो ।

लक्ष्य :

विद्यालयमा प्ले ग्रुपदेखि प्लस टूसम्म पढाइ हुने गरेकोमा प्लस टूतर्फ व्यवस्थापन संकाय रहेको छ । भविष्यमा प्राविधिक विषय थप गर्नुका साथै स्नातक तहसम्म विभिन्न संकायहरु थप गर्ने लक्ष्य राखेको जनाएको छ । हाल कैलाली जिल्लाभित्र शाखा विस्तार गरिसकेकोमा भविष्यमा छिमेकी जिल्लामा पनि अन्य शाखा विस्तार गर्दै जाने विद्यालयको लक्ष्य रहेको संस्थापक प्रध्यानाध्यापक परमेश्वर साहु बताउछन ।

विद्यालय र विद्यार्थीको हितमा नयाँ नयाँ योजना बनाउन उत्साहित छौं : प्रअ‍ ‍साहु


२०६० सालमा हामीहरुले शिक्षा क्षेत्रमा केही योगदान दिने हेतुले निजी लगानीमा विद्यालय संचालनमा ल्यायौं । आजका दिनसम्म आइपुग्दा आफ्नो लक्ष्यमा सफल भएर पनि नयाँ नयाँ लक्ष्य कायम गर्न सफल भएको महसुस भएको छ । किनकि यो विद्यालय यस क्षेत्रकै एउटा उत्कृष्ट नमुना संस्थागत विद्यालयको रुपमा परिचित हुन सफल छ । हामीले अभिभावकहरुको पनि उत्तिकै सहयोग पाएका छौं । उहाँहरुले हामीप्रति गर्नुभएको विश्वास अझै दृढ बनाउन प्रतिबद्ध छौं । बदलिँदो समयसग मिल्ने गरी सहज, सुलभ र सरल तरिकाले प्रविधि जोडेर पठनपाठन गर्ने विद्यालयले व्यवस्था मिलाएको छ।

फलस्वरुप विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याउन सफल छन् । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्था गरेको छ । प्राविधिक शिक्षालाई सरकारले पनि अलि जोड दिनुपर्छ । शिक्षाको उद्देश्य रटाउने र घोकाउने हुनु कदापि हुँदैन । यसले व्यक्तिमा सीपको विकास गर्नुपर्दछ । सम्पूर्ण युनाइटेड एकेडेमी परिवार, अभिभावक र विद्यार्थीको साथ सहयोगले आज यो विद्यालय गौरव गर्नलायक विद्यालय भएकोमा संस्थापक प्रध्यानाध्यापककाे हैसियतले खुसी व्यक्त गर्दछु । सबैबाट धेरै माया र सहयोग पाएका छौं, जसले गर्दा विद्यालयको हितमा नयाँ नयाँ योजना बनाउन उत्साहित छौं।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदैआएका छौं : अध्यक्ष रावल

कुनै पनि देशको विकासको नींव त्यसको शिक्षा व्यवस्थामा टिकेको हुन्छ । त्यसैले शिक्षालाई तेस्रो आँखा भनिएको हो । युनाइटेड एकेडेमीले विद्यालय स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदैआएको छ।

देशको शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको ठूलो योगदान हुँदाहुदै पनि अप्ठ्यारो परेको बेला सम्बन्धित निकायहरु मौन रहनु अतिनै दुःखदायी विषय हो । सरकारले शिक्षा क्षेत्रलाई जुन गम्भीरता साथ लिनुपर्ने थियो, त्यति लिएकोजस्तो मलाई लाग्दैन । निजी लगानीमा स्थापित स्कुल–कलेजहरुले विद्यार्थीलाई विदेश गएर पढ्नु पर्ने बाध्यता केही हदसम्म पक्कै पनि रोक्न सफल भएको छ । हामीहरु पनि त्यो दिशामा अघि बढेका छौं।

सुन्दर र शान्त वातावरणमा विद्यार्थीको प्रतिभा विकास गर्दै उनीहरुलाई सफल नागरिक बनाउन विद्यालय कटिबद्ध छ । साथै सम्पूर्ण अभिभावक तथा विद्यार्थीले साथ र सहयोग आगामी दिनमा पनि रही रहने अपेक्षा गर्दछौं।