सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १ हजार ४ सय

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज  एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य  एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य एक हजार २९५ निर्धारण भएको छ ।

बन्दाबन्दी लागूगरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।