कोभिडको असरः २२ प्रतिशतको रोजगारी गुम्यो, उद्योग सर्भाइभ हुन ९ महिना लाग्ने

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ साउन । कोरोना भाइरसको कारण उद्योगहरु अप्ठेरो अवस्थामा पुगेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले कोभिडको असर सम्बन्धी अध्ययन रिपोर्ट सार्वजनिक गर्दै उद्योगहरु अप्ठेरो अवस्थामा पुगेको र चालु पुँजीको समेत समस्या हुने बताएको हो ।

राष्ट्र बैंकका अनुसार उद्योग/व्यवसायहरुको कुल खर्चमा स्थिर खर्च र चालुखर्चको हिस्सा क्रमशः ३७.६ प्रतिशत र ६२.४ प्रतिशत रहेको छ । चालु खर्चको हिस्सा अधिक रहनुले बिषम परिस्थितिपश्चात् उद्योग/व्यवसायहरुलाई चालुपूँजीको समस्या हुनेतर्फ संकेत गरेको अध्ययन प्रतिवेदनको निश्कर्ष छ ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएका छन् ।
बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको रिपोर्टमा उल्लेख छ ।

यसरी अधिकांश उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको राष्ट्र बैंकको निष्कर्ष छ ।
राष्ट्र बैंकले शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको समेत उल्लेख गरेको छ ।

अध्ययन प्रतिवेदन अनुसार बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायह? बढी प्रभावित भएको समेत देखिएको छ ।

कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरैरहेका छन् ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ ।

यसका साथै कर्मचारी/कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधामा समेत उल्लेख्य कटौती गरेको देखिएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन् । यस्तै, ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।