पोखराको शैक्षिक गौरव: कुमुदिनी होम्स् सेकेण्डरी स्कुल

- शिक्षण सिकाइमा नयाँ–नयाँ प्रयोग भित्राउने स्कुल

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



कुमुदिनी होम्स् सेकेण्डरी स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अब्बल मानिन्छ। पोखराका नाम चलेका केही स्कुलमा कुमुदिनी होम्स अग्रपंक्तिमै आउँछ । शैक्षिक गुणस्तर अभिवृद्धि होस् वा अतिरिक्त क्रियाकलापमा पोखरामात्र हैन, नेपालकै अन्य स्कुल भन्दा पहिला नयाँ–नयाँ प्रयोग भित्राउने कुमुदिनीले हजारौं विद्यार्थीको उज्यालो भविष्यको ढोका खोलिदिएको छ । विगत ३२ वर्षदेखि अनवरत् संचालित यो स्कुल गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता गर्दैन । त्यसैले त सहर होस् वा गाउँका मानिसहरु कुमुदिनीमा छोराछोरी पढाउन लालायित छन् । अहिले पनि स्कुलमा मन्टेश्वरीदेखि कक्षा १२सम्म १४सय विद्यार्थी पढिरहेका छन् । विद्यार्थी डोर्‍याउँदै स्कुलसम्म वर्षेनी आउने नयाँ–नयाँ अनुहारका अभिभावक सीमित सिटका लागि खुल्ने भर्नामा आफ्ना छोराछोरी अट्न सके भने आफूलाई भाग्यमानी ठान्छन् ।

पोखरामा चालीसको दशकताका खासै बोर्डिङ थिएनन् । खुलेका पनि केही सीमित थिए । मुख्यबजार महेन्द्रपुल नजिकै गैह्रापाटनमा २०४४ साल पुस २ गते कुमुदिनी होम्स् खुल्यो । सरकारीको तुलनामा निजी स्कुलहरुले विस्तारै गुणस्तरीय नतिजा पस्किन थालेपछि अभिभावक पनि बोर्डिङ तर्फ आकर्षित हुन थाले । कुमुदिनी होम्स् पनि सबैको नजरमा पर्दै गयो । पोखराकै पालिखे परिवारले खोलेको यो स्कुल विद्यार्थीको पहिलो रोजाइ नै बन्न थाल्यो ।

स्कुल खोल्ने बेलामा कक्षा १ देखि ५ सम्म प्राइमरी लेवलको कक्षा सुरुवात गरिएको थियो । ‘सधैँ लक्ष्य उच्च’ नाराका साथ विद्यार्थी, अभिभावक र शिक्षकको अन्योन्याश्रित सम्बन्धकै कारण विद्यालयले पनि गुणस्तरीय नतिजा दिँदै गयो । विस्तारै कक्षा श्रेणी थपिँदै गए । कक्षा १० सम्म पुग्यो । २०५२ सालदेखि एसएलसीमा विद्यार्थी सम्मिलित गराउन थालियो । स्कुलकै अञ्जली सुवेदीले यही स्कुलबाटै २०५९ सालमा नेपालमै ‘बोर्ड टेन्थ’ मा आफ्नो नाम स्वर्ण अक्षरमा दर्ज गर्न सफल भइन् । कास्की जिल्लामा ५ पटकसम्म स्कुलले एसएलसी/एसइईतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएको छ ।

‘हेर्दाहेर्दै २४ व्याच गइसकेको छ । नतिजा हरेक वर्ष राम्रो छ, विद्यालयका संस्थापक एवं अध्यक्ष अशोक पालिखे भन्छन्, ‘हामीसँग २६ वर्षदेखि पढाइरहेका अनुभवी शिक्षक शिक्षिका हुनुहुन्छ । भौतिक सुविधा पर्याप्त छ, अतिरिक्त क्रियाकलाप निरन्तर चल्छ । गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौं ।’

उनका अनुसार विद्यालयमा मन्टेसरीदेखि कक्षा १२ सम्म गरी ९१ जना शिक्षक शिक्षिका छन् । फूल टाइम ८३ जना छन् भने प्लस टूका लागि आंशिक ८ जना छन् । अन्य कर्मचारीको संख्या ३६ छ । विद्यालयले २०६२ सालदेखि प्लस टूतर्फ व्यवस्थापन संकायको पढाउन थाल्यो । विद्यार्थी तथा अभिभावकको अनुरोधमा पुनः गत वर्षदेखि विज्ञान संकायमा पनि पढाइ सुरुवात गरिएको हो । व्यवस्थापनतर्फ वर्षेनी झण्डै ७० प्रतिशत हाराहारीमा विद्यार्थी उत्तीर्ण छन्, विज्ञानको नतिजा हेर्न बाँकी छ ।

नयाँ–नयाँ प्रयोग : विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ–नयाँ प्रयोग गर्दैआएको छ । संघीय राजधानी काठमाडौंबाहिर ब्रिटिस कोर्स यहाँ सुरु भयो । इन्टरनेशनल प्राइमरी करिकुलम (आइपीसी) प्राइमरी लेवलमा ३ वर्षदेखि सुरु भएको विद्यालयले जनाएको छ । यो कोर्स विस्तारै कक्षा ५ सम्म लैजाने विद्यालयको तयारी छ । कोर्स कठिन भएकोले शिक्षकलाई पनि विशेष प्रकारको तालिम दिई दक्ष बनाइएको विद्यालयको दाबी छ ।

यस्तै, पोखरामै पहिलोपटक यहाँ २०६७ सालदेखि मिदास क्लास सुरु भयो । विद्यार्थीलाई सूचना प्रविधिमार्फत कसरी पढाइमा अभिरुची बढाउन सकिन्छ भनी विशेषगतः गणित र विज्ञान विषयमा यो कोर्ष केन्द्रित छ । लेक्चर विधिमात्र नभई प्राक्टिकल रुपमा सिकाउन सक्ने छिटो र दिगो सिकाइ हुने यो सिकाइको मान्यता हो ।

त्यतिमात्र कहाँ हो र ? यहाँ थ्री–डीआई पनि छ । थ्री डाइमेन्सनल इन्टिलेजिन्स अर्थात् पढाएर बुझाउने नभै, बुझाएर पढाउने । गत वर्षदेखि सुरु यो कोर्स आइपीसी कोर्सअन्तर्गत पर्छ । सिंगापुरे कोर्स भविष्यमा कक्षा ६÷७ सम्म लैजाने विद्यालयको लक्ष्य छ ।

यस्तै, विद्यालयले बेलाबेलामा व्यवहारिक ज्ञान दिन ‘गेष्ट लेक्चर’ समेत दिने गरेको छ । गाँजा चरेस खानु हुँदैनमात्र भनिन्छ । खायो भने के हुन्छ ? भन्नेबारे समाजमा व्यवहारिक शिक्षा सिकाउने चलन छैन । लाइसेन्स नभएकोले गाडी चलाउनु हुँदैन भनिन्छ तर चलाएर दुर्घटनामा परे के–कति दण्ड सजाय हुन्छ भन्नेबारे सिकाइँदैन । त्यसैले आफूहरुले विषय विज्ञ आमन्त्रण गरी विद्यार्थीलाई अतिरिक्त कक्षा सिकाउने गरेको विद्यालयका संस्थापक एवं अध्यक्ष पालिखेले जानकारी दिए ।

त्यतिमात्र कहाँ हो र, देश कोरोना महामारीले लकडाउनमा पर्दा कुमुदिनीले पोखरामै पहिलो पटक अनलाइन कक्षा चलायो । विस्तारै अरु स्कुलले पनि सिको गरे । सरकारले नै पछि अनलाइनमाध्यमबाट विद्यार्थी पढाउनुपर्ने नियम नै चलायो । कुमुदिनीको विभिन्न तहमा ६५ देखि ९० प्रतिशतसम्म अनलाइन कक्षामा सहभागी विद्यार्थीले त्रैमासिक परीक्षासमेत दिइसकेका छन् ।

कुमुदिनीमै चिनियाँ भाषा शिक्षण समेत हुने गरेको छ । यसको लागि चीनबाटै प्रशिक्षण झिकाइएको छ । चाइना कल्चरल सेन्टर, काठमाडौंको सहयोगमा संचालित यो कोर्स सिकाउन भने कुनै शुल्क लाग्दैन । हाल कक्षा ५ देखि ७ सम्मका विद्यार्थीलाई चिनियाँ भाषा सिकाउने गरिएको पालिखेले बताए । पोखरा पर्यटकीय सहर भएको र यहाँ चिनियाँ पर्यटक वेसी आउने हुँदा विद्यार्थीलाई मातृभाषा बाहेक थप भाषाको ज्ञान दिने उद्देश्यले चिनियाँ भाषा शिक्षण सुरु गरिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशमै सबैभन्दा सुविधासम्पन्न र राम्रो ल्याब कुमुदिनीमै रहेको विद्यालयको दाबी छ । त्यस्तै कम्प्युटर ल्याबमै १ सय कम्प्युटर छन् । अन्य स्कुलमा जस्तो यहाँ पनि संगीत, नृत्य, खेलकुद लगायत क्रियाकलाप त हुन्छ नै त्यसबाहेक चित्रकला अझ प्राथमिकतामा छ । नेपाल सरकारले चलाएकोभन्दा राम्रो आर्ट म्यूजियम कुमुदिनीमा छ । २०६८ सालमा कलाकार किरण मानन्धरलेले सो म्यूजियम उद्घाटन गरेका थिए । यहाँका विद्यार्थीले कोरेका पेन्टिङबाहेक यहाँ १ सय ६० जनाभन्दा बढी कलाकारको २ सय ७० बढी पेन्टिङ छन् । जसबाट विद्यार्थीले थप ज्ञान लिने र सिक्ने मौका पाउँछन् । नेपालकै पहिलो बीएफए (ब्याचरल इन फाइन आर्ट) चन्द्रमानसिंह मास्केको पेन्टिङसमेत यहाँ देख्न पाइन्छ । १९८५ ताका चन्द्रशमशेर जबराले मास्केलाई कोलकत्तामा पेन्टिङ सिक्न पठाएका थिए ।

यसैगरी, बालबालिकालाई सम्पदा शिक्षाबारे जानकारी दिइने गरिएको छ । भक्तपुरबाट ३ सय वर्ष पुरानो कलात्मक झ्यालढोका ल्याएर विद्यालयमा फिटिङ गरिएको छ । यो ऐतिहासिक महत्वको सम्पदा हेर्न कुमुदिनी पुगे पुग्छ । नेपालको आफ्नै मौलिक कला तथा सम्पदा सिकाउन यसले मद्दत पु¥याउँछ । शुद्ध नेपाली शैलीको दाचि अप्पा (इँट्टा) फिटिङ गरेर अझ कलात्मकता झल्काइएको छ । यो अवलोकन गरेर पनि विद्यार्थीले नेपालको ऐतिहासिक सम्पदा तथा मौलिक संस्कृतिबारे सहज रुपमा जानकारी लिन सक्छन् ।

चुराचुरुङ्गी तथा मौरीपालन पनि विद्यालय परिसरमै देख्न पाइन्छ । ४० प्रकारका विभिन्न जडिबुटीको बोटबिरुवाले विद्यालय झनै सुन्दर बनेको छ । पालिखे भन्छन्, ‘यसले विद्यार्थीमा संरक्षण शिक्षा सिकाउन मद्दत पुर्‍याउँछ ।’

विद्यालयका भौतिक सुविधा : पोखराको अग्रणी र स्थापित यो विद्यालयमा पूर्ण शैक्षिक वातावरण, भौतिक पूर्वाधारले सम्पन्न, अनुभवी शिक्षकशिक्षिकाबाट अध्यापन गराइन्छ । नियमित कक्षाको साथै अतिरिक्त शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीलाई सहभागी गराइने गरिएको विद्यालयले जनाएको छ । कुल १४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयको हाल १० सुविधासम्पन्न बिल्डिङ् छन् । साइन्स ल्याब तथा कम्प्युटर ल्याब सुविधा छ । मन्टेसरी, प्राइमरी र सेकेण्डरी लेभलका विद्यार्थीको लागि ३ वटा फरक–फरक लाइब्रेरी छन् । ३ सय जना अट्ने सभाहल छ । टाढाटाढाका विद्यार्थीलाई स्कुलसम्म ल्याइपुर्‍याउन ९ वटा स्कुल बस छन् । पोखराको हेमजा, बाटुलेचौरदेखि छोरेपाटन, तालचोकसम्म विद्यालय बस गुडेको देख्न पाइन्छ । विद्यालयमा पढ्ने हाल १४ सय जना विद्यार्थी तथा शिक्षक–कर्मचारीको २ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको छ ।

सामाजिक उत्तरदायित्व: कुमुदिनी होम्स् माविले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम समेत गर्दै आएको छ । नेपाल सरकारले आव २०७७ -०७८ को बजेट वक्तव्यमा निजी स्कुलले सरकारी स्कुलको शैक्षिक गुणस्तर तथा भौतिक सुविधा वृद्धिमा सहयोग गर्नुपर्ने नीति ल्यायो । सरकारको नीति अहिलेमात्र यस्तो आए पनि कुमुदिनी ७ वर्षदेखि कास्कीको पुरुञ्चौर र भुर्जुङ्खोलाको विद्यालयलाई नियमित रुपमा सहयोग गर्दै आएको छ । विद्यालय संस्थापक तथा अध्यक्ष अशोक पालिखेका अनुसार पोखरा–१९, पुरुञ्चौर हिमालयन प्राविमा विद्यार्थी पोशाक, शैक्षिक सामग्री, दिवा खाजा, फर्निचर लगायत सहयोग गर्दै आएको छ । विद्यालयसम्म पुग्न सहजहोस् भनी पुल निर्माण गरिदिएको छ, कुमुदिनीले । त्यसबेला १३ जनामात्र विद्यार्थी पढ्ने दुर्गमको सो स्कुलमा हाल विद्यार्थी संख्या बढेर ३३ जना पुगेका छन् ।

त्यस्तै, माछापुच्छे« गाउँपालिका अन्तर्गत भुर्जुङखोलाको बाराही प्राविमा पनि त्यस्तै प्रकारको सहयोग उपलब्ध गराउँदै आएको छ । सो सुविधाका कारण पहिलो १९ जनामात्र विद्यार्थी संख्या रहेको बाराहीमा अहिले ३५ जना विद्यार्थी पढ्छन् ।

उता, पोखरा–११, काँहुडाँडास्थित कालिका माविलाई हालै २० सेट बेञ्च–टेबल हस्तान्तरण गरियो । अब हिमालयन प्रावि र बाराहीमा गरी १५ सेट बेञ्च–टेबल दिने कुमदिनीको अर्को कार्यक्रम छ । सो सहयोग कोरोना संक्रमण जोखिम कम हुने बित्तिकै वितरण गरिनेछ ।

अतिरिक्त क्रियाकलापसहित गुणस्तरीय शिक्षामा जोड दिन्छौं : अशोक पालिखे

नेपालमा स्थापित निजी स्कुलहरुमध्ये कुमुदिनी होम्स् पनि अब्बल स्कुल हो भन्दा हामीलाई गर्व लाग्छ । गुणस्तरीय शिक्षामा हाम्रो सधैँ जोड रहेको छ । विद्यालय तहको शिक्षा राम्रो हुन सक्यो भनेमात्र भविष्यमा विद्यार्थीले अनेकौं चुनौती सहजै पार गर्न सक्छन् भन्ने हाम्रो मान्यता छ । पोखरा क्षेत्रमा त कुमुदिनीले गहिरो छाप छोड्न सफल छ । कास्कीसहित नेपालका विभिन्न जिल्लाका विद्यार्थीहरु यहाँ पढ्छन् । हामी घरदैलो गर्दैनौं । अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षामा जोड दिन्छौं । शिक्षा क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछौ ताकि विद्यार्थीलाई बुझ्न सहज होस् । सिकाइलाई अझै विशिष्टिकरण गर्दै जाने हो । अझै श्रोतसाधन सम्पन्न गराउने लक्ष्य छ ।

कुमुदिनीसहित निजी लगानीमा स्थापित स्कुल–कलेजहरुले विद्यार्थीलाई विदेश गएर पढ्नु पर्ने बाध्यता केही हदसम्म रोक्न सफल भएको छ । सो अनुसारको शैक्षिक वातावरण तयार पार्नु सरकारको दायित्व पनि हो । शिक्षा उच्च गुणस्तरको हुनुपर्छ भनी वातावरण तयार पारेमात्रै निजी क्षेत्र त्यसमा अगाडि बढ्ने छ । अहिले पनि भारत तथा विदेश जाने विद्यार्थी कम भएका छन् किनकि नेपालमै राम्रा र गुणस्तरीय विद्यालय कलेज संचालित हुन थालेका छन् । तर दुःखको कुरा के भने सरकारले निजी क्षेत्रलाई प्रोत्साहन नभई दुरुत्साहन गरिरहेको छ । यसले गर्दा निजी क्षेत्र जति विकसित हुनुपर्ने हो सो अनुसार हुन सकेको छैन । सरकारले निजीलाई प्रोत्साहन गरे पनि सरकारकै लागि हो । सामुदायिक विद्यालयको गुणस्तर बढाएर निजी क्षेत्रसगं प्रतिष्पर्धा गरोस् । तर सरकारले समान व्यवहार गरिदिओस् । निजी क्षेत्रमा कम्तीमा २ लाख बढीले रोजगार पाएका छन् । त्यही अनुसारको कर आइरहेको छ । जनशक्ति उत्पादन भइरहेको छ । सरकारले यसलाई महत्वका साथ लिनुपर्छ ।

अन्त्यमा, सुन्दर र शान्त वातावरणमा विद्यार्थीको प्रतिभा विकास गर्दै उनीहरुलाई सफल नागरिक बनाउन कुमुदिनी होम्स परिवार कटिबद्ध छ । सम्पूर्ण अभिभावक, शिक्षक र विद्यार्थीकोे आपसी समन्वय भविष्यमा पनि यसैगरी रहीरहोस् भन्ने अपेक्षा गर्दछौं ।

(कुमुदिनी होम्स् का संस्थापक /अध्यक्ष अशोक पालिखेसगँ सफल आवाजकर्मीले गरेकाे वार्तामा आधारित )