
काठमाडाै,२८ साउन। आउदो हप्ता तीन कम्पनीले सर्वसाधारणका लागि आईपिओ निष्काशन गर्ने तयारी गरेका छन । जिवन बिमा सेवा प्रदान गर्ने रिलायन्स लाइफ इन्स्योरेन्स कंपनी लिमिटेड र सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्त वितिय संस्थाले यही २०७७ भदौ ४ गतेबाट आईपिओ निष्काशन गर्ने भएका छन । लमजुङको माथिल्लो दोर्दी एक जलबिधुत आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले पनि सर्वसाधारणका लागि आगामी भदौ ३ गतेबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कंपनी लिमिटेड
जिवन बिमा सेवा प्रदायक कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले प्रति कित्ता एक सय बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले ३ लाख १५ हजार कित्ता सेयर सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएको छ । बाकी ५६ लाख ७० हजार कित्ता सेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन ।
कम्पनीका अनुसार लगानीकर्ताले न्युनतम १० कित्ता देखी अधिकतम ६३ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन । आवेदन दिनको लागि भदौ ८ गते सम्मको समय तोकिएको छ । सो अवधिसम्म पर्याप्त आवेदन नपरे भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले यो शेयर निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । कम्पनीको हाल चुक्ता पुंजी १ अर्ब ४७ करोड छ । सर्वसाधारणमा सेयर जारी गरेपछि कम्पनीको पूँजी २ अर्ब १० करोड पुग्ने बताइएको छ ।
समाज लघुवित्त बितिय संस्था लिमिटेड
सर्लाहीको मलंगवामा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्त बितिय संस्था लिमिटेडले भदौ ४ देखि आईपिओ निष्काशन गर्दैछ । ३ जिल्ला कार्यक्षेत्र भएको यो संस्थाले ८६ हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । बितिय संस्थाको सेयर खरिदका लागी न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता संख्या तोकिएको छ ।
लघुवित्तले आवेदन दिने मिति भदौ ८ गतेसम्म तोकेको छ । सो अवधिमा चाहिने आवेदन नपरेमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने ब्यवस्था गरिएको समाज लघुवित्त बितिय संस्था लिमिटेडका सिइओ किशोरी महतोले बताए । सिइओ महतोका अनुसार शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
लिवर्टी इनर्जी कम्पनी
लमजुङको माथिल्लो दोर्दी एक जलबिधुत आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणका लागि आगामी भदौ ३ गतेबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । हालै कम्पनीले आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागेको जनाएको छ । कम्पनीले हाल जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम रु ३७ करोड ५० लाख बराबरको सेयर बिक्री गर्न लागेको हो ।
प्रति कित्ता रु १०० दरका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गरी बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता सहित कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर सर्वसाधरणलाई बिक्री गर्न लागेको कंम्पनीले जनाएको छ ।