अपर दोर्दी ए जलविद्युत् आयोजनामा लगानी गर्नेले छिट्टै आकर्षक प्रतिफल पाउने छन्: घिमिरे

- कम्पनीले सर्वसाधारणका लागि आगामी भदौ ३ गतेबाट सेयर बिक्री गर्ने तयारी गरेको छ ।

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित


लिवर्टी इनर्जी कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको २५ मेगावाटको अपर दोर्दी ए जलविद्युत् आयोजना लमजुङको दोर्दी खोलामा निर्माण भईरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो आयोजना स्नो फेड रिभरमा आधारित हो ।  यसको सकारात्मक प्रभाव विद्युत् उत्पादनमा देखिन्छ । पानीको बहाबकै कारण वार्षिक रूपमा उत्पादन हुने औसत विद्युत्मा ठूलो अन्तर नभएपछि यसको प्रत्यक्ष प्रभाव आम्दानीमा देखिन्छ । 

आयोजनाको प्रबर्धक लिवर्टी इनर्जी कम्पनीले सर्वसाधारणका लागि आगामी भदौ ३ गतेबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । २०७१ सालमा विधुत खरिद सम्झौता गरी निर्माण कार्यमा लागेको कम्पनीले आह्वानपत्र सार्वजनिक गरी साधारण सेयर बिक्री गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । कम्पनीले हाल जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम रु ३७ करोड ५० लाख बराबरको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक घिमिरेका अनुसार प्रति कित्ता रु १०० दरका कूल ३७ लाख ५० हजार कित्तामध्ये आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि बिक्री गरी बाँकी रहेको १३ लाख १५ हजार ९३० कित्ता सहित कूल ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर अहिले सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

  ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ कूल लागत रहेको यो जलविधुत आयोजना सम्पन्नको अन्तिम चरणमा छ । हामी आगामी तीन महिनामा बिजुली बाल्न तयार भएका छौं घिमिरेले भने ।  यसैकारणले पनि हाम्रो आईपीओमा माग भन्दा बढी आबेदन पर्नेछ र लगानीकर्ताले पनि छिटै उचित प्रतिफल प्राप्त गर्नेछन भन्नेमा हामी विश्वस्त छौं ।

आयोजनामा ७० प्रतिशत बैंकको ऋण र ३० प्रतिशत स्वपुँजी लगानीमा छ । यो आयोजनाको ऋण लगानीमा नेपाल इन्भेष्टमेन्ट बैंकले लिड गरेको छ भने नेपाल बैंक र अन्य बैकले पनि ऋण लगानीमा सहकार्य गरेका छन ।  स्वपुँजी मध्ये ७५ प्रतिशत संस्थापन तथा २५ प्रतिशत स्थानीय, आयोजना प्रभावित र सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीले यसअघि नै आयोजना प्रभावित तथा स्थानीयका लागि छुट्ट्याइएको १० प्रतिशत शेयर निष्कासन तथा बाँडफँड गरिसकेको छ । 

आयोजनाबाट छिटो मुनाफा कमाउन विधुत उत्पादन हुनासाथ जोड्ने प्रसारण लाइनको उपलब्धता हुनुपर्छ । दोर्दीका हकमा प्रसारण लाइन पहिल्यै सुनिश्चित भइसकेको छ । विधुतगृहबाट करिब ५० मिटरको दूरीमा नेपाल विद्युत् प्राधिकरणले २२० केभीको सबस्टेसन निर्माण गरेको छ । हिमनदीमा आधारित खोलाको बहाब र प्रसारण लाइन उपलब्ध भएको कम्पनीले विधुत उत्पादन भएको तेस्रो वर्षमा १२.५ प्रतिशत मुनाफा दिने घोषणा नै गरेको छ ।

कम्पनीका अनुसार लगानीकर्तालाई चौथो देखी आठौं वर्षसम्म १५ प्रतिशत, नवौंदेखि ११ वर्षसम्म २० प्रतिशत, १२ देखि १७ वर्षसम्म २५ प्रतिशत, १८ देखि २५ वर्षसम्म ३० प्रतिशत, २६औं वर्षमा ३५ प्रतिशत र २७ देखि ३० वर्षसम्म ४० प्रतिशत मुनाफा दिने योजना छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विधुत उत्पादन हुन्छ । प्राधिकरणले यसको विधुत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा किन्ने सम्झौता गरेको छ । यसको आधारमा औसत विद्युत् बिक्री दर प्रतियुनिट ६.६० रुपैयाँ हुन आउँछ । यही आधारमा कम्पनीको वार्षिक आम्दानी करिब ९० करोड २७ लाख ८० हजार रुपैयाँ देखिन्छ । यद्यपि, कम्पनीले वार्षिक आम्दानी करिब ८० करोड रुपैयाँ हुने उल्लेख गरेको छ ।

लिबर्टी इनजी कम्पनीलाई अनुभवी ब्यक्तीहरुको समुहले नेतृत्व गरेको छ । कम्पनीको अध्यक्षमा कुशकुमार जोशी छन । उनी नेपाल उधोग बाणिज्य महासंघका पुर्व अध्यक्ष हुन । कम्पनीको प्रबन्ध निर्देशकमा डा आत्माराम घिमिरे छन । उनी प्रभु लाइफ इन्स्युरेन्स कम्पनीका अध्यक्ष र इन्भेष्टर फोरमका पुर्व अध्यक्ष पनि हुन । कम्पनीकाे अन्य संचालकमा सुशिल थापा, राम बहादुर पाण्डे र राजेन्द्र वस्ती छन ।

 विधुत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ५ पटकसम्म मूल्यबृद्धिको सुविधा पाएको छ । यसो हुँदा आयोजनाको सम्झौता अवधि सकिने बेलासम्म हिउँदमा ९.६६ रुपैयाँ प्रतियुनिट र बर्खामा ५.५२ रुपैयाँमा बिजुली बेच्न पाउँछ ।

सुरुका समयमा  भूकम्प, नाकाबन्दी जस्ता कारणले निर्माणको काम गर्न केही समस्या भयो । त्यो समयमा भूकम्पले ९ महिना र नाकाबन्दीले ६ महिना धेरै असर पार्यो । त्यो बेला हामीले काम गर्न सकेनौ । २०७३ पछि हामीले निरन्तर काम गरेका कारण अहिले निर्माणको अन्तिम चरणमा पुगेका छौं । चैतमा योजना सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड महामारीका कारण केही ढिला भएपनि अबको तीन महिनामा  बत्ती बाल्ने तयारीमा छौं ।

लिवर्टी इनर्जीले बागलुङमा २४.६ मेगावाटको बडिगाड खोला र लमजुङमै १.६ मेगावाटको लोदो खोला निर्माण गर्ने तयारी गरेको छ । दोर्दीसँगै लिवर्टीका ३ आयोजना हुनेछन् । उक्त दुई आयोजना निर्माणपछि कम्पनीको आम्दानी थप बढ्नेछ । यसो हुँदा पनि कम्पनीमा लगानी गर्दा समयमा उचित प्रतिफल पाउन सकिने आधार देखिन्छन । 

(कम्पनीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेसंगकाे बार्तामा आधारित )