बैंकले खर्च गर्न सकेनन् सामाजिक उत्तरदायित्वको रकम, धमाधम सरकारी खातामा जम्मा

-



     रेबिका आचार्य    
     भाद्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६-७७ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले खर्च गर्न असफल भएका छन् ।

समाजिक उत्तरदायित्वमा खर्च गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम कोरोना रोकथाम तथा उपचार केन्द्रमा जम्मा गर्न थालेका छन् । सरकारले यस्तो रकम खर्च नभए कोरोना कोषमा जम्मा गर्नु पर्ने बताएको थियो ।

आइतबारसम्म विभिन्न बैंकहले २१ करोड ५८ लाख रुपैयाँ कोरोना कोषमा जम्मा गरेको अर्थमन्त्रालयले बताएको छ ।

कुन बैंकले कति जम्मा गरे ?
अर्थमन्त्रालयले दिएको जानकारी अनुसार नविल बैंकले ६ करोड रुपैयाँ खर्च हुन नसकेको रकम कोरोना कोषमा जम्मा गरेको छ भने कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ जम्मा गरेको छ ।

यसैगरी मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले ३ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ जम्मा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले पनि २ करोड ६९ लाख ९३ हजार १४५ रुपैयाँ, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २३८ रुपैयाँ, सनराइज बैंकले ७९ लाख ४४ हजार ४७६ रुपैयाँ , डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार १२९ रुपैयाँ र एनएमबी लघुबित्त बित्तिय सस्थाले साढे१३ लाख जम्मा गरेका छन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले आव २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च हुन बाँकि रकम नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने प्रावधान लिएको थियो ।