कोरोनाबाट थप ९ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ भदौ । कोरोना भाइरसका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए।

जसमा सुनसरीकी ६ वर्षीया बालिका, ६७ वर्षी पुरुष, पर्सामा वर्ष ६१, ५८ र ४८ का पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको हो । साथै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ । शुक्रबारमात्र सबैभन्दा धेरै ११ जनाको मृत्यु भएको थियो । सो संख्या एकै दिनमा सबैभन्दा धेरै मृत्यु भएको संख्या हो ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय ८२ महिला र ४ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

राजधानी काठमाडौं उपत्यकामा शनिवार २ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् ।

देशभर हाल सक्रिय संक्रमित १२ हजार ६ सय २१ रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसन ८ हजार ७ सय ५ जना र होम आइसोलेसनमा ३ हजार ९ सय १६ संक्रमित रहेका छन् ।