
सांकेतिक तस्वीर
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् ।
पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेश गरेको र बोलपत्रको प्राविधिक मूल्याङ्कन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ ।
आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका छन् ।
आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी) ले उक्त बोलपत्र रद्द गरेको थियो । पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एडिबी र युरोपेली लगानी बैंक (इआइबी) को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।
आयोजनाको ‘केवल टनेल’को काम शनिबार मात्रै पूरा भएको थियो । केवल टनेलको १८८ मिटर काम सम्पन्न भएको र अब विद्यृत्गृह निर्माणको काम शुरु गर्ने तयारी गरिएको छ । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत्गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता भएको थियो ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।
आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर व्योहोर्ने छ । रासस