खतिवडा मन्त्री नरहने, बामदेव बन्ने भए राष्ट्रिय सभा सदस्य

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ भदौ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा अब मन्त्रीबाट हट्ने भएका छन् । राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको २ वर्षे कार्यकाल ६ महिना अघि नै सकिएको थियो ।

सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका कारण ६ महिना अघि पुनः मन्त्री नियुक्त भएका खतिवडा अहिले अर्थ र सञ्चार गरी दुई मन्त्रालयको जिम्मेवारीमा छन् । उनको ६ महिना २० गते पुग्दैछ । यसर्थ अब खतिवडा मन्त्री पदमा रहन पाउने छैनन् ।

राष्ट्रपतिबाट मनोनित हुन पाउने राष्ट्रिय सभामा एक सिट खाली थियो । तर उक्त सिटमा खतिवडालाई नभई नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लगिने भएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष रहेका गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराएको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाबारे केही नभनेको श्रेष्ठले बताए । प्रधानमन्त्रीको रोजाईमा परेका कारण कुनै एक सांसदलाई राजिनामा दिन लगाएर उक्त सिटमा खतिवडालाई ल्याएर मन्त्री बनाउन सक्ने सम्भावना भने यथावतै छ ।