नेपाली अलैँचीको ‘ब्राण्ड’ अब अन्तर्राष्ट्रिय बजारमा

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



इलाम, १९ भदौ । नेपाली अलैँचीको ‘ब्राण्ड’ अब अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउन लागेको हो ।

सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो । अन्य देशमा स्वीकृतिको प्रक्रियामा रहेको छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तानमा अलैँची लैजान सकिने भएको छ ।

निजी क्षेत्रसँग भएको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो । ट्रेडमार्क निर्माणका लागि निजी क्षेत्र, अलैँची व्यवसायी संघले २०६७ सालदेखि गृहकार्य शुरु गरेका थिए । विभिन्न समितिमार्फत निर्माण भएको ट्रेडमार्कमा सगरमाथाको चिन्ह र अलैँचीको दाना राखिएको छ ।

ट्रेडमार्कमा सगरमाथा राखेपछि नेपालको अलैँची भनेर चिनाउन सहज हुने भएकाले सगरमाथा राखिएको अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । ट्रेडमार्क कार्यान्वयनपछि नेपाली अलैँचीको गुणस्तर सुधार हुने व्यवसायीको भनाइ छ । “हामीले अन्तर्राष्ट्रिय बजारमा अलैँची पठाउँदा ट्रेडमार्क अनुसार गुणस्तरमा ध्यान दिनुपर्छ अन्यथा अलैँची निर्यात नहुन सक्छ”, महासचिव भट्टराईले भने ।

ट्रेडमार्क कार्यान्वयनका लागि कानून व्यवसायी,परामर्शदातामार्फत अलैँची निर्यात हुने मुलुकमा सन्देश पठाइएको छ । सरकारबाट लोगो जारी भएपछि भारत, पाकिस्तान र युएईमा ट्रेडमार्क पठाइएको थियो । “हाम्रोबाट मुख्य तीन देशमा बढी अलैँची जाने भएकाले ति देशमा पठाइहालेका हौँ”, भट्टराईले भने, “पाकिस्तानबाट चाहिँ लोगो स्वीकृति भएर आयो । अन्य देशमा प्रक्रियामा छ ।”
ट्रेडमार्क कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ । सबैभन्दा गुणस्तरीय अलैँचीलाई जम्बो जेट “जेजे”, मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी “एसटी” र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन “सीसी” मा वर्गीकरण गरिएको छ ।

व्यवसायीले अलैँची निर्यातका क्रममा किसानसँग समेत वर्गीकरण छुट्याएर किन्नु पर्ने मापदण्ड रहेको महासंघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । तीनवटा मापदण्डमा छुट्याउँदा किसानले अलैँचीको मूल्य पनि मापदण्ड अनुसारकै गुणस्तर अनुसार फरक÷फरक पाउने कार्कीको भनाइ छ । ट्रेडमार्क जारी भए लगत्तै विभिन्न मुलुकमा पठाए पनि ‘अत्यन्तै’ ढिला मात्रै प्रतिक्रिया आएको हो । “कानून व्यवसायीमार्फत काम गर्नुपर्छ । कस्तो प्रतिक्रिया आउँदैछ भनेर सोध्यौँ, ठिकै छ भन्छन् । सबैकुरा बुझिँदैन”, महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने । “पाकिस्तानबाट त हुन्छ भन्ने प्रतिक्रिया आयो, अन्य देशबाट पनि आउँछ भन्ने प्रतीक्षामा छौँ ।” नेपालको अलैँची हालसम्म भारतकै ट्रेडमार्कमा निर्यात हुन्छ । नेपालबाट अलैँची पठाए पनि कतिपय देशमा ट्रेडमार्क नहुँदा भारतीय अलैँचीकै ब्राण्डमा चिनिएको थियो ।

भारतमार्फत अहिले अलैँची निर्यात गर्नुपर्दा पटकपटक समस्या पर्ने गरेको छ । “भारत हाम्रो अलैँची जाने माध्यम पनि हो र प्रतिस्पर्धी पनि हो । त्यसैले समस्या आउँछ”, महासंघका महासचिव सुवास भट्टराईले भने, “तर ट्रेडमार्क कार्यान्वयनमा आएपछि केही सहज होला ।”

कति निर्यात हुन्छ अलैँची ?

सरकारले कृषिजन्य पदार्थको निकासीमा प्रवद्र्धन गरे पनि अलैँचीको निर्यात घट्दो क्रममा देखिन्छ । तर सरकारको प्राथमिकता अलैँचीमा कम परेको व्यवसायी बताउँछन् । भारत निर्यात गर्दा भन्सार समायोजन नहुँदा पनि व्यवसायीले बढी रकम बुझाउनु परेको हो । भारतमा उत्पादन हुने अलैँचीमा भारतको सहयोग अत्यन्तै बढी छ । नेपालमा किसानको मात्र प्रयत्नले अलैँची उत्पादन हुन्छ ।

आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकोमा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो मात्र निर्यात भएको वैदेशिक रोजगार तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकोमा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । गत आवमा छ दशमलव दुई प्रतिशतको परिणामले गिरावट आएको राष्ट्रिय समाचार समितिले लेखेको छ ।