निजी ल्याबको कोरोना बीमा रिपोर्टको दाबी भुक्तानी विवाद टुङ्ग्याउन समिति गठन

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ भदौ । निजी अस्पतालका ल्याबबाट कोरोना परीक्षण गराएर बीमा रकम दाबी गर्दा भुक्तानी नपाएपछि यसका सम्बन्धमा छानविन गर्न बीमा समितिले आज छानविन समिति गठन गरेको छ ।

नेपालका नीर्जिवन बीमा कम्पनीहरुले कोरोना बीमा गर्दा सरकारी वा निजी ल्यावबाट परीक्षण गर्ने भन्ने स्पष्ट नखुलाएको र हाल सरकारी परीक्षण रिपोर्टलाई मात्र आधिकारीक मान्ने निर्णय गरेपछि निजी क्षेत्रबाट चौतर्फि विरोध भएको थियो । निजी ल्याबलाई पनि सरकारले नै आधिकारीकता दिएकोले नीजि ल्यावको रिपोर्टलाई पनि मान्यता दिनुपर्ने माग गरिएको छ ।

यसै विषयलाई स्पष्ट पार्न आज बसेको बीमा समितिको बैठकले समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि रहेका छन् । गठित समितिले निजि अस्पतालका ल्याबबाट कोरोना परिक्षण गरेर आएका बीमा रकम दाबी भुक्तानीको सम्बन्धमा गहिरो अध्ययन गर्ने बताईएको छ । अध्ययनपछि समितिले दिने सुझावको आधारमा बीमा भुक्तानीका सम्बन्धमा निर्णय हुने भएको छ ।

बीमा समितिले हालसम्म सरकारी अस्पतालका रिपोर्ट सहितका दाबी भुक्तानी निवेदनलाई अध्ययन गरी एक हप्ताभित्रमा दावी भुक्तानी दिन बीमा कम्पनीलाई निर्देशन समेत दिएको छ ।