अब जग्गाको कित्ताकाट गर्न पाईने, घरजग्गा व्यवसायीलाई राहत

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ भदौ । नेपाल सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्धलाई हटाएको छ । सरकारको यो निर्णयपछि घरजग्गा व्यवसायीले राहत महसुस गरेका छन् ।

लामो समय जग्गा कित्ताकाट नहुँदा घरजग्गा व्यवसायमा मन्दी आई व्यवसायी पलायन हुने क्रम वढेको थियो । जसको असरले बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा दर वढेको बैंकरहरुले बताउँदै आएका थिए । अबको यो निर्णयले घरजग्गा व्यवसायीलाई सकारात्मक प्रभाव पार्ने र ओरालो लागिसकेको रियलस्टेट क्षेत्रमा सुधारको संकेत देखिने आशा गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै जग्गाको कित्ताकाटमा लागेको प्रतिबन्धलाई हटाएकी हुन । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्धलाई हटाउनको लागि मन्त्रालयलाई सुझाव दिएको थियो । अख्तियारको सुझाव र सेवाग्राहीको आग्रहलाई मनन गर्दै हालका लागि जग्गा कित्ताकाट खुलाएको मन्त्रालय श्रोतले बतायो ।

सरकारको यो निर्णयपछि घरजग्गा व्यवसायी उत्साहित भएका छन् । यसअघि जग्गाको कित्ताकाट नहुँदा वजारमा आर्थिक कारोवारनै चलायमान नभएको सरोकारवालाहरुले बताउँदै आएका थिए ।
यसको प्रत्यक्ष असर बैंक तथा वित्तिय संस्थाहरुमा समेत परेको थियो । घरजग्गा कारोबार नभएपछि बैंकको लगानी खुम्चिएको थियो । सरकारको पछिल्लो निर्णयबाट घरजग्गा करोवार वृद्धि हुने र अर्थ तथा वित्तिय वजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।