प्रोग्रेशिभ फाइनान्सको आठौं शाखा हेटौंडामा

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २२ भदाै । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बागमती प्रदेशको राजधानी हेटौंडामा आज देखि आठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु यो हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बिशाल हुमागाईले सफल आवाजलाई बताए ।

कोभिड १९को महामारीका बीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने कार्यकारी अधिकृत हुमागाईले बताए ।

फाइनान्सले एटीएम, मोबाइल बैंकिङ, ई बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायतका डिजिटल बैकिङ सम्बन्धी सेवा प्रदान गरिरहेको छ । यस फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत आफ्ना सेवा तथा सुविधाहरु प्रवाह गरिरहेको फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले बताए ।