मणिपाल अस्पतालमा मुक्तिनाथ बैंकका ग्राहकलाई २०% सम्म छुट

-



     सफल आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित



काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा पारस्परिक सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

उक्त समझदारीअनुसार अब बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउनेछन् भने अस्पतालका कर्मचारीहरूले बैंकबाट न्यूनतम ब्याजदरमा विभिन्न कर्जा तथा बैंकिङ सुविधा प्राप्त गर्नेछन् ।

समझदारीका मुख्य विशेषताहरू

  • स्वास्थ्य सेवामा १० देखि २० प्रतिशत छुट : नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटिएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट उपलब्ध गराउनेछ ।
  • न्यूनतम ब्याजदरमा कर्जा तथा बैंकिङ सुविधा : मुक्तिनाथ विकास बैंकले नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा प्रोफेसनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य सहुलियतपूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।

यस सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीले गुणस्तरीय एवं सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीले सहज बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।