गरिमाले प्रविधिमैत्री वित्तीय सेवा दिइरहेकाे छ : सीईओ ढकाल

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



डेभलपमेन्ट बैंकर्स एशोसिएसनका बर्तमान अध्यक्ष समेत रहेका गोविन्दप्रसाद ढकाल बैंक तथा वित्तीय क्षेत्रमा परिचित नाम हो । हाल उनी गरिमा विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । बैंकिङ करियरमै उनको २५ वर्ष बितिसकेकाे छ । सुरुवातमा १३ वर्षसम्म ग्रामीण विकास बैंकमा काम गरेपछि त्यसयता उनी निरन्तर गरिमा विकास बैंकको नेतृत्व हाँकिरहेका छन् । क्षेत्रीय विकास बैंकको रुपमा स्याङ्जाकाे वालिङमा स्थापना भएको गरिमाको प्रधान कार्यालय पोखरा हुँदै ३ वर्षअघि केन्द्रीय राजधानी काठमाडौं सारेर देशकै अब्बल विकास बैंकको रुपमा गरिमालाई दर्ज गराउनुमा उनको महत्वपूर्ण भूमिका रहेकाे छ ।
कोरोना महामारीका बिच पनि बैंकले गत आर्थिक वर्षमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो । गरिमाको हाल देशभर ९५ शाखा संचालनमा छन् । अझ १० शाखा असोजभित्रै विस्तार गर्ने तयारी बैंकको छ । अत्यन्तै दूरदर्शी सोच, निरन्तर परिश्रम गर्न मन पराउने बैंकर ढकालसँग कोरोनाका कारण बैंक तथा वित्तीय क्षेत्रमा परेको प्रभाव, एशोसिएसनको भूमिका तथा गरिमा विकास बैंकको समग्र गतिविधिबारे सफल आवाजका लागी आरजु विष्टले गरेको कुराकानीको सम्पादित अंशः

यतिबेला कोरोना भाइरस (कोभिड–१९) महामारीको असर विश्व अर्थतन्त्रमा परेको छ । तपाईको विचारमा नेपालको वित्तीय क्षेत्रमा यसको कस्तो असर परेकाे छ ?
–कोभिड–१९ को असर विश्वमा झैं नेपालमा पनि परेको छ । पर्यटन र यातायात क्षेत्रमा बढी प्रभाव पर्यो । यो लगायत उत्पादन गर्ने विभिन्न उद्योगहरु, कलकारखाना लगायत सम्पूर्ण बन्दको स्थितिमा रहे । त्यसको प्रत्यक्ष असर हाम्रो बैंक तथा वित्तीय क्षेत्रमा परेको महसुस गरेका छौं । उद्योग व्यवसाय राम्रोसँग चल्न नसक्दा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय क्षेत्रमा पर्दछ । वित्तीय संस्था र उद्योग, व्यापार भनेको हामी एउटै डुंगाका यात्री हौं । त्यो डुंगामा समस्या आयो भने उद्योग व्यवसायीमात्र नभई बैंक तथा वित्तीय संस्थासमेत सँगसँगै डुब्ने स्थिति प्रवल रहन्छ ।

२०७६-०७७ को व्यालेन्स सिटभन्दा पनि चालु आवको ब्यालेन्स सिटलाई थप प्रभाव पार्ने महसुस गरेका छौं । यसको प्रभाव कति रहने हो भन्ने अझै भन्न सकिने अवस्था छैन । लकडाउनकै बेलामा पनि हामीहरुले ग्राहकलाई सेवा दियौं । कुनै पनि ग्राहकले बैंक तथा वित्तीय क्षेत्रमा भएको पैसा कुनै कारणवश निकाल्न नसक्ने अवस्था रहेन । हामीहरुले उहाँहरुको आवश्यकता अनुसार विभिन्न शाखा संचालन गर्दै गयौं ।

हामीहरुको नियमित हुने कामहरु निक्षेप संकलन र भुक्तानी दिनेबाहेक कोरोनाका कारण सेवा विस्तार र लगानीको अवसरहरु आउन नसकेको अवस्था छ । एकातिर नेपाल सरकारले लिएको २० प्रतिशत ग्रोथरेट र ७ प्रतिशत मुद्रास्र्फीर्ती कायम गर्ने जुन लक्ष्य थियो, त्यो लक्ष्य प्राप्ति गर्न प्रभाव पारेको छ । २० प्रतिशत लगानी विस्तार गर्नुपथ्र्यो । तर त्यो भएन । कर्जा असुलीको समस्या छ । निक्षेपमा दिने व्याज प्रत्येक क्यासमा खर्च गर्नुपरेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाको आम्दानीको स्रोत भनेकाे व्याज हो, त्यही असुली हुन सकेको छैन । कागजी रुपमा मात्र सीमित छ । अहिले परेको असरभन्दा पनि आगामी दिनमा अझै बढी समस्याग्रस्त हुने अवस्थामा छ । नेपाल सरकारले आर्थिक स्थिति चलायमान नबनाउने हो भने कोरोना रोगको कारणभन्दा आर्थिक कारणले मानिसले ठूलो प्रभाव बेहोर्नुपर्ने हुनसक्छ ।

अबको विकल्प के होला त ?
कोरोना के हो ? यसको प्रभाव के हो भन्ने कुरा सर्वसाधारण मानिसले पनि जानिसकेका छन । तसर्थ विकसित मुलुकदेखि लिएर मित्रराष्ट्र भारतमा जहाँ एकै दिनमा झण्डै एक लाख मानिस संक्रमित देखिन थालेका छन्, त्यस्तो मुलुकमा त सम्पूर्ण आर्थिक चलायनमान भैसकेको छ । तर, यहाँ भने बन्दका लागि मात्र बन्द गरिएको अवस्था देखिन्छ । तसर्थ कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै आफ्ना दैनिक क्रियाकलाप अगाडि बढाउँदै उद्योग, कलकारखाना, व्यवसाय सम्पूर्ण रुपमा खोल्नुपर्छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गम्भीर रुपमा बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । यदि बेलैमा सोचिएन भने नेपालको भोलिको आर्थिक अवस्था कस्तो रहला भन्नेबारेमा कसैले पनि अहिले आँकलन गर्न सक्दैन ।

गरिमाकै कुरा गरौं, गत वर्षको वित्तीय विवरणमा गरिमा बैकले करिब ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको देखियो , यसमा सन्तुष्ट हुनुहुन्छ ?
बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने पनि व्यवसायी नै हुन् । लगानी गरेपछि नाफाकाे आशा सबैलाइ हुन्छ । अहिलेकाे अवस्थामा याे नाफा राम्राे हाे । नेपालमा पारदर्शी रुपमा एकाउन्ट राखेर कारोबार संचालन गर्ने भनेकै बैंक तथा वित्तीय संस्था हुन् । यिनीहरुले गरेको नाफा सर्वसाधारणले समेत स्पष्टरुपमा थाहा पाउन हामीहरुले त्रैमासिक रुपमा विवरण सार्वजनिक गर्छौ ।

अर्बौको कारोबार गर्दा करोड आम्दानी हुनु ठूलो कुरा हैन । तर उसको इक्युटी कति छ भन्नेमा भर पर्छ । लगानीकर्ताले कति प्रतिशत नाफा पायो भन्ने महत्वपूर्ण हो । हामीहरुको लक्ष्य कोरोनाको बीचमा पनि ८० प्रतिशत मिट गर्न सफल भएका छौं । गरिमाले गत असारसम्म ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद ब्याज आम्दानीमा सुधार भएकाे छ ।

बैंककाे अन्य सूचकहरुको अवस्था कस्तो छ र ग्राहकलाइ थप के सुबिधा दिदै‌ै हुनुहुन्छ ?
गरिमाको गत वर्ष ७६ शाखा कार्यालयहरु संचालनमा थिए । पछि १५ शाखा बीचमा संचालनमा ल्याएको थियौं । त्यसबीचमा कोरोनाका कारण हाम्रो लक्ष्यअनुरुप बाँकी २० प्रतिशतमात्र मिट गर्न सकेनौं । हामी अहिले १२ प्रतिशत हाराहारीमा नाफा दिन सक्ने अवस्थामा छौं । हाम्रो बैंकको इतिहासमै पहिलो पटकमात्र यो प्रतिशत आएको हो । यसअघि १८ प्रतिशतभन्दा कम प्रतिफल कहिल्यै भएन । त्योभन्दा वेशी नै भयो ।

तर कोरोना महामारी आइसकेपछि अन्य बैंक तथा वित्तीय संस्थामा झै हाम्रोमा पनि संकूचनको कुरा आयो । एटीएमदेखि विभिन्न सेवामा फ्री सर्भिस गर्न राष्ट्र बैंकले निर्देशन गर्यो, त्यसले पनि करोडौं रुपैयाँ घाटा भएको अवस्था छ । अहिले हाम्रोमा करिब साढे ३ लाख ग्राहक हुनुहुन्छ । अहिले कोरोना आएझैं भोलि पनि यस्तै अर्कै प्रकारको महामारी नआउला भन्न सकिन्न । तसर्थ हाम्रा ग्राहकहरुको लागि आईटीसम्बन्धी सुसूचित गर्दै डेबिट कार्ड, क्रेडिड कार्ड प्रयोग गर्न प्रोत्साहित गर्ने, अनलाइनतर्फ स्कूलिङ गर्ने उद्देश्य राखेका छौं । हामी बैंकलाई प्रविधिमैत्री बनाउदै अघी बढिरहेका छाै‌।

कोभिड–१९ का कारण विदेशबाट फर्केका धेरै दाजुभाइ दिदीबहिनी हुनुहुन्छ । उहाँहरुले स्वदेशमै केही गर्न चाहनुहुन्छ भने बिनाधितो सहुलियतपूर्ण कर्जा दिने पोलिसी पनि ल्याउँदैछौं । यसलाई विशेष प्रोग्राम बनाएर अगाडि बढाउने योजनामा छौं । आर्थिक पाटोबाट हुने याे सहयोगले बेरोजगार समस्या हटाई स्वरोजगारमा सहयोग गर्छ भन्ने लागेकाे छ । राष्ट्रलाई पनि फाइदा पुग्छ । अब हामी बैकलाई बिजनेससहित थप मजबुद बनाउँदै अगाडि बढाउने तयारीमा जुटेका छौं ।

गरिमाले स्याङ्जाबाट कास्की हुँदै संघीय राजधानी काठमाडौंमा पनि पकड जमाउन सफल भयो, देशकै केन्द्रमा आएर काम गर्दा के–कति अप्ठ्यारो भोग्नुपर्यो ?

मैले गरिमामा स्याङ्जा जिल्लाबाट नेतृत्व लिँदा बैंकको ९ करोडको मात्र पोर्टफोलियो थियो । समयको माग, बैंकको आवश्यकता, लगानीकर्ताको सहयोग, संचालक समिति लगायतको सहयोगले बैंकमा काम गर्न अग्रसर बनायो । पछि हामी कास्कीकाे पोखरामा आयौ । हाम्रो काम र सेवाले सबैको मन जित्न सफल भयौं । विशेषगरी बैंकको सर्भिस कस्तो हुनुपर्छ भन्नेमा सचेत बन्यौं । विस्तारै शुभेच्क्षा र नीलगिरि विकास बैंकलाई मर्ज गर्यौं । अनि देशको केन्द्रीय राजधानी काठमाडौं मा गरिमाकाे प्रवेश भयो ।

पोखराको तुलनामा केन्द्रमा अप्रेसन कस्ट धेरै हुने, डिपोजिट धेरै हुने तर ल्याण्डिङ कम हुँदा अर्थात् कम रेटमा लगानी गर्नुपर्दा सुरुवातका दिनमा केही कठिन महसुस भयो । ५-६ महिना सोच्न बाध्य बनायो । काठमाडाैै उपत्यकाबाहिर विभिन्न प्रदेशमा हाम्रा शाखा मजबुत थिए । हामीले बेस बनाइसकेका थियौं । ग्रासरुटका हाम्रा ग्राहकहरु हुनुहुन्थ्यो । डिपोजिट र ल्याण्डिङ सानो–सानो रुपमा छरिएको अवस्था थियो । त्यसले गर्दा हामीलाई काम गर्न सहज भयो । संस्थागत सुशासन र गूडवील हेर्दा हामी अहिले नम्बर १ विकास बैंकको रुपमा उभ्याउन सफल भएका छौं । तैपनि अझै हामी अगाडि बढ्न प्रयत्नशील छौं । बैंकमा ग्राहक आइसकेपछि यो मेरो बैंक हो भन्ने अपनत्व हुनुपर्छ भन्ने हाम्रो मान्यताका साथ सेवामा लागिपरेका छौं ।

अहिले सबै प्रदेशमा बै‌‌कको राम्रै उपस्थिति देखिन्छ । गरिमाको सेवा विस्तारका थप केही योजनाहरु छन् कि ?
बैंक तथा वित्तीय संस्थाले जेजति सेवासुविधा ग्राहकलाई दिनुपर्ने हो, सबै सुविधाहरु कार्यान्वयन गरेको छ । कर्मसियल बैंकले दिएका सुविधा यहाँ पाइन्छन । अझ मोवाइलबाटै सबै सुविधा लिन सक्ने गरी प्रबिधिमैत्री सेवालाई विस्तार गर्ने योजनालाई प्राथमिकता दिएका छौं ।
आईटी प्रयोग गर्दा सम्भावित जोखिम न्यूनीकरण गर्दै फरक ढंगले काम गर्ने उद्देश्यमा केन्द्रित छौं । अहिलेको बजेटमा बैंकले सोतर्फ पनि अलि बढी बजेट विनियोजन गरेको छ । अब कसैलाई कर्जा आवश्यकता परे, घरबाटै अप्लाई गर्न सक्ने सफ्टवेयर जडान गर्दैछौं ।

पछिल्लो समय विकास बैंकको संख्या निरन्तर घट्दो छ, मर्जर नीति शुरु भएपछिको तथ्यांक हेर्ने हो भने ७५ प्रतिशत विकास बैंकको अस्तित्व समाप्त भएको छ, अझै कति घट्लान् ?

राष्ट्र बैंकले बिग मर्जरको नीति अगाडि ल्याएको छ । विकास बैंक विगतमा ९० वटा थिए । अहिले घटेर २२ मा आएका छन् । मलाई लाग्छ, अब विकास बैंक १२-१५ वटाभन्दा बढी रहँदैनन् । तर यति संख्यामा भने विकास बैंक मुलुकलाई आवश्यकता पर्दछ । नामको हिसाबले विकास बैंकको संख्या घटे पनि यसको उपस्थिति भने बढ्दै गएको छ । शाखा बढेका हुन् । २ वर्ष अघि विकास बैंकका देशभर मात्र ८ सय शाखा संख्या रहेकोमा हाल बढेर करिब १४ सय पुगेका छन् ।

धेरै विकास बैंकहहरु मर्ज भइरहेका छन् । गरिमाले मर्जरबारे के सोचेको छ ?
गरिमा विकास बैंक मर्जमा जान्छ वा जाँदैन भन्ने कुरा मैले नै अहिले भनिहाल्दा कहिलेकाहीँ अनर्थ पनि लाग्न सक्छ । तसर्थ यो विषय भनेको संचालक समितिको इच्छा, चाहना र निर्णयमा भरपर्ने कुरा हो । तर नेपालको बर्तमान अवस्था हेर्दा मुलुकमा १२-१५ वटा विकास बैंक आवश्यकता छ र हुनुपर्छ । निम्न तथा मध्यम वर्गलाई समेट्ने भनेको विकास बैंक भएकोले वित्तीय कारोबारलाइ सहजता बनाउन पनि विकास बैंककाे आवश्यकता छ ।

तपाईले विकास बैंकका सीईओहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको नेतृत्व पनि गरिरहनुभएको छ । कोभिड–१९ असरले विकास बैंकहरुलाई कत्तिको असर पारेको देख्नुहुन्छ ?
हाम्रा सबै सदस्य बैकलाइ काेभिडकाे असर पक्कै छ । हामीहरु राष्ट्र बैंकसँग समन्वय गरेर यसबीचमा कसरी सेवा दिने, कसरी शाखा संचालन गर्ने, भोलिका दिनमा कसरी अगाडि जाने भन्ने विषयमा निरन्तर छलफल गरिरहन्छौं । हामिले उठाएका विषयहरु तथा एशोसिएसनले राखेका झण्डै ८० प्रतिशत माग राष्ट्र बैंकले सम्बोधन गरिसकेकाे छ ।
यो हाम्रो उपलब्धि हो भन्ने महसुस गरेका छौं । हाम्रा विकास बैंकहरुलाई कसरी सरल ढंगमा अगाडि बढाउन सकिन्छ भन्नेबारे राष्ट्र बैंक तथा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य हो । ११ सदस्यीय कार्यसमिति रहेको एशोसिएसनले गरेका सबै निर्णयहरु सर्वसम्मत् गरेको छ । कुनै पनि विषयमा विवाद छैन ।

हाल सञ्चालनमा रहेका विकास बैंकहरुको मुनाफा गत वर्षमा २५ प्रतिशतभन्दा धेरैले गिरावट आयो, यसो हुनुमा कोभिड नै कारक हो ?
सही भन्नु भो । यो निःसन्देह कोरोनाकै कारण भएको हो । लगानी गर्न सकिएन । बिजनेस दिन सकिएन । अघिल्लो वर्षको तुलनामा २०-२५ प्रतिशत मुनाफामा गिरावट आएको हो ।

लामो समय बन्दाबन्दी भयो, बन्दाबन्दीको बेला आफ्ना ग्राहकलाई के–कसरी सेवा उपलब्ध गराउनुभयाे ?
बैंकिङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र भएकाले सेवा दिनुपर्छ भनी विभिन्न शाखाहरुबाट सेवा उपलब्ध गरायौं । हाल केही दिनयता त देशभरका शाखाहरु संचालनमा आए । तर लकडाउनको सुरुवातको दिनमा पनि ग्राहकलाई सेवा दिने विषयमा हामीहरुले कुनै कसर बाँकी राखेनौं ।

एशोसिएसनले यो असहज अवस्थामा आफ्ना सदस्य संस्था र नियामक निकायसँग कसरी समन्वय गरिरहेको छ ?

एशोसिएनको काम नै असहज, अप्ठ्यारो अवस्थामा सम्बन्धित निकायसँग सहजीकरणका लागि भूमिका खेल्ने हो । कोभिड–१९ पछि देशमा वित्तीय स्थायित्व कायम गर्न के–कति गर्न सकिन्छ भन्नेबारे राष्ट्र बैंकसँग निरन्तर छलफल गर्छौ । कुन ब्राञ्च खुलाउने, कुन एटीएम काउन्टर खुलाउने लगायत प्रत्येक विषयमा समन्वय गर्दछौं । साथसाथै सम्बन्धित जिल्लाको स्थानीय निकायसँग पनि आवश्यक समन्वय भैरहेको हुन्छ ।

अन्तमा, अहिलेको विषम परिस्थितिमा सरकार तथा नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाका ग्राहकलाई कस्तो खालको राहत सुविधा दिनुपर्ला ?

नेपाल राष्ट्र बैंकको नीति सहित सरकारले बैंक तथा वित्तीय संस्थालाई प्रयोग गरेर जुन राहतको प्याकेज ल्यायो, त्यो आफैमा उत्तम हो । अहिलेको अवस्थामा उद्योग व्यवसायीलाई प्रत्यक्षरुपमा राहत दिने भनेका बैंक तथा वित्तीय संस्थामात्र देखिएका छन् । व्याज छुट, किस्ताबन्दी पछाडि सार्ने, व्याजदर घटाउने लगायत जे–जति सुविधा दिइयो, बैंक तथा वित्तीय संस्थाबाट अन्यबाट सो खालको सुविधा दिइएको मैले जानकारी पाएको छैन ।

कोरोनाको मारमा परेका उद्योग व्यवसायीलाई प्रत्यक्ष रुपमा यसले लाभ दिएको महसुस गरेको छु । हिजोका दिनमा उद्योग व्यवसायीलाई केही गरेर बचाउनुपर्छ भन्नेमा लाग्यौं, अब भने बैंक तथा वित्तीय संस्था पनि कसरी बच्ने भन्ने स्थिति रहेकोले थप सुविधा दिने अवस्था छैन । अब बैंक तथा वित्तीय संस्थाहरुले बैंक छुटको नाममा होस् वा व्याजदर कम गर्ने ठाउँमा होस् अब स्पेस छ जस्तो लाग्दैन । जे–जति गर्नुपर्ने हो, सो लचकता अपनाएर गरेका छौं । जसले बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर केही भए पनि आम्दानीको स्रोत बनाउनुभएको छ, उहाँहरुको लागि पनि हामीहरुले हेर्नुपर्नेछ ।

आज हामीले १२-१४ लाख ऋण लिनेहरुलाई मात्र हेरेर भएन साढे २ करोड निक्षेप राखेको पब्लिकलाई अन्याय पर्ने अवस्था सिर्जना गर्नुहुँदैन । हामीले दुवै वर्गलाई समान ढंगले हेर्नुपर्छ । आज बैंकमा राखिएको १ सय रुपैयाँको मूल्य १ वर्षपछि पनि १ सय रुपैयाँ नै कायम रहनुपर्छ । १ सय रुपैयाँको क्रयशक्ति ९७-९५ हुँदै घट्दोक्रममा गयो भने त्यो अन्याय हुन्छ कि हुन्न भन्ने कुरा बुझ्नु जरुरी छ ।

हामीले राष्ट्र बैंकले दिएको निर्देशन तथा सरकारका पोलिसीभित्र रहेर काम गरेका छौं । अब हामी यहाँभन्दा तल गएर सहयोग गर्ने अवस्थामा छैनौं । अब उद्योगी व्यवसायीलाई आर्थिक रुपमा सहयोग भन्दा पनि काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । उहाँहरुलाइ सुचारुरुपमा काम गर्ने मौका कसरी दिन सकिन्छ भन्नेबारे सोच्नु जरुरी भएकाे छ ।