
काठमाडौँ, १ असाेज । दक्षिणकाली नासपाती र लप्सीकाे पकेट क्षेत्र बन्रे भएकाे छ । धार्मिक एवं सांस्कृतिक पर्यटकीयस्थलको पर्याप्त सम्भावना रहेको दक्षिणकाली नगरपालिकालाई नासपाती र लप्सीको समेत पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
वडा नं ८ स्थित फर्पिङ क्षेत्र पहिलेदेखि नै नासपाती पाउने स्थलका रुपमा प्रसिद्ध छ । फर्पिङलाई वाग्मती प्रदेश सरकारले समेत नासपाती ब्लक भनी घोषणा गरेको छ । वडा नं ९ को हुमाने भञ्ज्याङलाई लप्सी ब्लकका रुपमा घोषणा गरिएको छ । वडा नं ८ को राम्चे भञ्ज्याङलाई समेत लप्सी ब्लकका रुपमा विकास गर्न लागिएको छ । नासपाती र लप्सी राम्रो हुने नगर क्षेत्रलाई दुवै उत्पादनको उदाहरणीयस्थलका रुपमा विकास गर्ने गरी नगरपालिकाले पनि बजेट विनियोजन गरेको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिए ।
नगरपालिकाको वडा नं ६ र ७ लाई फूल व्यवसायको हबका रुपमा विकास गर्न लागिएको पनि उनले बताए । नौ वटा वडा रहेको नगर क्षेत्रका प्रत्येक वडालाई एक-एक उत्पादनको हबका रुपमा विकासका लागि पूर्वाधार तयार पारिएको नगरपालिकाले जनाएको छ ।
चम्पादेवीमा वैदिक ग्राम
नगरपालिकाको चम्पादेवीमुनि रहेको ह्वाइटहाउस डाँडाबाट काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाका महत्वपूर्णस्थल देखिने भएकाले यसलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । चम्पादेवीको २७ रोपानी जग्गामा नेपाल महर्षि वैदिक फाउन्डेसनले वैदिक ग्राम निर्माण अन्तिम चरणमा पु¥याएको छ । दशैँअघि नै उद्घाटन गर्ने गरी वैदिक ग्रामको काम भइरहेको नगर प्रमुख बस्नेतले बताए ।
प्राचीनकालदेखि नै प्रसिद्ध तीर्थस्थलको पहिचान बनाएको दक्षिणकालीमा वैदिक ग्रामको निर्माणसँगै वार्षिक लाखौँ पर्यटक भित्र्याउन सकिने आशा नगरपालिकाले लिएको छ । ऋग्वेदको १०औँ मण्डलबाट लिइएको भावातीत ध्यानको विश्वव्यापी प्रचारप्रसारमा लागेका महर्षि महेश योगीका अमेरिकाका चेलाको विशेष सहयोगमा चम्पादेवीमा वैदिक ग्राम निर्माण भइरहेको छ ।
वैदिक ग्राममा ध्यान साधनास्थल, वैदिक यज्ञस्थल, वैदिक पण्डितको आवासीयस्थल, प्रशिक्षणस्थललगायत संरचना तयार भइरहेको फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले बताए ।
याङ्लासीमा शैक्षिक पर्यटन प्रवद्र्धन गरिने
वडा नं ५ मा रहेको विश्वभरका बौद्धमार्गीको पवित्रतीर्थस्थल याङ्लासीलाई शैक्षिक पर्यटनका रुपमा अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ । उक्त स्थलमा अहिले पनि वार्षिक हजारौँ बौद्धमार्गी विश्वका विभिन्न स्थलबाट आउने गरेका छन । यहाँको माटोलाई विश्वका बौद्धमार्गीले निधारमा लगाएर श्रद्धा प्रकट गर्ने गरेका छन ।
नेपालकै पहिलो र दक्षिण एशियाको दोस्रो चन्द्रज्योति जलविद्यत गृहलाई वाग्मती प्रदेश सरकारको सहयोगमा पर्यटकीय केन्द्रका रुपमा अघि बढाउन लागिएको छ । विद्युत गृह नगरपालिकाको वडा नं ३ मा पर्छ । कोरोनाको सङ्क्रमण फैलनुअघि बिदाका दिन हजारौँ विद्यार्थीसमेत विद्यत गृह हेर्न आउने गरेका थिए ।
वडा नं ३ वडामा रहेको हात्तीवन रिसोर्टका कारण पनि नगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको छ । वडा नं ४ वडामा रहेको अग्लो डाँडालाई पिक स्पटका रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरिने भएको छ । वडा नं २ लाई प्रदेश सरकारले तरकारी ब्लकका रुपमा घोषणा गरेको छ । उपत्यका जलमग्न हुँदा नै दक्षिणकाली वडा नं ६ बस्ती थियो भन्ने विश्वास गरिन्छ । शिखरापुर भनिने यो नगरमा राजा पचलीभैरवले समेत शासन गरेका थिए भन्ने भनाई बुढापाकाको रहिआएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिए ।
हरिशङ्कर यात्राको मुख्य मन्दिर गोपालेश्वर, पौराणिक पात्र वाणासुरको छोरी उषामैयाँको दरबारसमेत वडा नं ६ को जङ्गलमा रहेको विश्वास गरिन्छ । उक्त स्थलमा अहिले पनि दरबारको भग्नावशेष रहेकाले उत्खनन गर्न पुरातत्व विभागलगायतलाई नगरपालिकाले अनुरोध गरेको छ । जहाँ भगवान कृष्णसँग सम्बन्धित जात्रा पनि चलाइने परम्परा छ । वडा नं ९ मा वाणासुरको दरबार रहेको विश्वास गरिन्छ । यो स्थललाई पनि उत्खनन गरेर ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वको प्रचारप्रसार गर्न सके नगरपालिकामै वार्षिक लाखाैं पर्यटक भित्र्याउन सकिने विश्वास गरिएको नगर प्रमुख बस्नेत बताउँछन ।रासस






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



