प्रदेश १ सरकारले दियाे १२ करोड मुल्यका दमकल र प्रहरी भ्यान

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित



विराटनगर, २९ असोज । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न रु ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरेका हुन । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक योजनाअन्तर्गत प्रदेशका १४ मध्ये ११ स्थानीय तहमा एक-एक वटा एकीकृत सेवा केन्द्र स्थापना गर्न उक्त सवारीसाधन उपलव्ध गराइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले जानकारी दिए ।

मन्त्रालयले केही महिनाभित्रै ती सेवा केन्द्रका लागि थप एक-एक थान एम्बुलेन्स पनि उपलब्ध गराउन लागेको संयोजक खनालले बताए । मुख्यमन्त्री राईले सङ्घीयताका कारण सरकारले दुर्गम क्षेत्रका जनताको शान्ति सुरक्षाका लागि कार्य गर्न सफल भएको बताए। कोरोना महामारी जस्तो विपद्को समयममा जनतालाई सेवा सुविधा र उनीहरुका हितका लागि कार्य गर्न दत्तचितका साथ कार्य गरिरहेको धारणा राख्दै सङ्घीयताका कारण जनतालाई उनीहरुको अधिकार विनियोजन गर्न सकिएको बताए ।

मुख्यमन्त्री राईले जस्तोसुकै विपद्मा सरकार जनताको साथमा छ भन्ने विश्वास दिलाउनु पर्ने उल्लेख गर्दै प्रदान गरिएका साधन स्रोत जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न आग्रह गरे। प्रदेश सरकार मानव जीवनको रक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले आगजनी जस्ता प्राकृतिक विपद् न्यूनीकरण र सुरक्षामा उपलब्ध साधनले महत्वपूर्ण योगदान प¥याउने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताका हितमा साधनको सदुपयोग गरी सञ्चालन गर्न आग्रह गर्दै जनताका बस्तीको संरक्षण गर्न र सुरक्षा मजबुद बनाउन एकीकृत सेवा केन्द्र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

एकीकृत सेवा केन्द्र सञ्चालनका क्रममा आवश्यक पर्ने जनशक्ति प्रदेश सरकारले प्रबन्ध गर्ने र व्यवस्थापनका लागि प्रत्येक एकाइलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने जानकारी दिए। मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सेवा केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नमूना कार्यविधि तयार पारिरहेको बताए ।

प्रदेशका १४ मध्ये ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुबाहेकका जिल्लामा रहने गरी दमकल र प्रहरी भ्यान हस्तान्तरण गरिएको हो । उदयपुरको रौतामाई, भोजपुरको हतुवागढी, मोरङको कानेपोखरी, इलामको देउमाई, झापाको कमल गाउँपालिका, धनकुटा नगरपालिका, सुनसरीको कोशी गाउँपालिका, तेह्रथुमको आठराई गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र पाँचथरको फिदीम नगरपालिकालाई साधन हस्तान्तरण गरिएको हो । एकीकृत सेवा केन्द्र स्थानीय तहको अधिनमा रहने गरी प्रदेश प्रहरीअन्तर्गतको स्थानीय युनिटले परिचालन गर्ने बताइएकाे छ ।रासस