सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृति हटाउनेछु:सञ्चारमन्त्री गुरुङ

-



     सफल आवाज    
     असाेज २९ गते २०७७ मा प्रकाशित


तस्वीर:रोशन सापकोटा


काठमाडाै‌‌, २९ असाे‍ज ।  नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृतिलाई हटाउने मुख्य याेजना रहेकाे बताएका छन । सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा नहुने बताए ।

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस सङ्कटकाे घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौं बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंँल्याए । उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्याउन सकिन्छ र हुलाक सेवालाई पुनर्जीवित तथा कसरी अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान गएकाे बताए ।

आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिए । नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उहाँको स्पष्टोक्ति थियो ।

सरकारका कामसम्बन्धी सहीसही सूचना तत्काल र व्यवस्थित ढङ्गले एकद्वार प्रणालीबाट जनसमक्ष पु¥याउन विभिन्न मन्त्रालयका प्रवक्तासँग मिलेर काम गरिनेछ र सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृतिविसङ्गतिलाई हटाउन पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसंँग पनि सहकार्य गरिनेछ, मन्त्री गुरुङले भने ।

यसअघि सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयसम्बद्ध १८ विभाग र निकायबारे जानकारी प्रस्तुत गर्दै मन्त्रालय परिवारका तर्फबाट नवनियुक्त सञ्चारमन्त्री गुरुङको निकट विगतको अनुभव कार्यदक्षता र स्पष्ट निर्णय गर्ने क्षमताले मन्त्रालयका कार्यसम्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।रासस