खसीबोका बिक्री गरेर कृषककाे डेढ करोड आम्दानी

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



दमौली, २ कात्तिक । दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै रु एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् ।

खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् । भिमाद नगरपालिका–९ भानुमतिको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसीबोका बिक्री गरेको छ । सहकारीले रु ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिए । तनहुँ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा खसीबोका बिक्री गरिएको हो । “खसीबोका बजारीकरण गर्न सहकारीले सहयोग गर्दै आएको छ, तनहुँभन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसीबोका किन्न आइपुग्छन्”, आलेले भने।

प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरेको उनले उल्लेख गरे । सो सहकारीमा आबद्ध २०८ कृषकले खसीपालन गरेका छन् । उक्त सहकारीले १९४ खसीबोका बिक्री गरेको थियो । यस्तै व्यास नगरपालिका–८ रिस्तीस्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २५ लाख ६२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिए। नगरपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

यसैगरी घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा १७३ खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत रु २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिइन । सो सहकारीले १७४ खसीबोका बिक्री गरेको छ ।

सहकारीमा आबद्ध ५७० शेयर सदस्यमध्ये ४०८ जनाले बाख्रापालन गर्दै आएका छन् । यस्तै घिरिङ गाउँपालिका–२ सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ खसीबोका बिक्री गर्न सकिएको जानकारी दिइन ।

“दशैँ नजिकिँदै गर्दा सहकारीमा आबद्ध कृषकले पालेका खसीबोका बिक्री गरेर गाउँमा पैसा भित्र्याउन सक्यौँ, शेयर सदस्य उद्यमशील बनेका छन् । भिमाद नगरपालिका–२ जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ७९६ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

व्यास नगरपालिका–१२ घाँसीकुवास्थित आधारशिला उद्यमी महिला सहकारी संस्थामार्फत रु पाँच लाख ८३ हजार तथा शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत रु चार लाख ९५ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु २९ लाख ९२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारीमार्फत खसीबोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन बिक्रीमा अनुदान दिएको जानकारी दिइन ।

यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु सात लाख ४४ हजार बराबरको खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिका–९ का कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका बिक्री गर्न पाउँदा सहज भएको बताएका राससले लेखेकाे छ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसीबोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको बताए ।