सञ्चार संस्थासँग सहकार्य गर्ने संचारमन्त्रीको भनाइ

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडाै‌, २ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट पारे ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गरिएको जानकारी दिए।

कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशीताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।