गण्डकीका सांसदले पनि फिर्ता गरे दसैं भत्ता

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित



पाेखरा, ६ कात्तिक । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय जनमाेर्चाका सांसदले दसैं भत्ता फिर्ता गरेका छन्।

नेकपा संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदीय दलका सबै सदस्यकाे भत्ता फिर्ताको निर्णय भएको र साे रकम प्रदेशकाे काेराेना काेषमा जम्मा गरिने बताए। संसदीय दलमा नेकपाका ४० सांसद छन्।

मन्त्रिपरिषद्काे बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको भत्ता फिर्ताको निर्णय गरेकाे र दिउँसाे दलको छुट्टै निर्णय भएको उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले मंगलबार नै दसैं खर्चवापत प्राप्त भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेशमा काँग्रेसका १५ सदस्य छन्।

राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि फिर्ताको निर्णय गरिसकेका छन् ।

अब जनता समाजवादी दलको धारणा सार्वजनिक हुन बाँकी छ । उसका २ सांसद छन्।

गण्डकी प्रदेश सभामा कुल ६० सदस्य छन् । तीमध्ये प्रत्यक्ष निर्वाचित ३६ र २४ समानुपातिक सांसद हुन्।

प्रदेशसभा सचिवालयका सहलेखापाल तुलसीराम अाचार्यका अनुसार चाडवाड खर्च शीर्षकमा गत असाेज अन्तिम साता नै सभामुख, उपसभामुख, सांसद, तिनका स्वकीय सचिवकाे गरि कुल ४१ लाख रूपैयाँ खातामा जम्मा गरिएको जानकारी दिए । तीमध्ये सभामुख, उपसभामुख, सांसद गरि ५२ जनाकाे मात्र २७ लाख ४ सय ८० रूपैयाँ छ। बाँकी रकम स्वकीय सचिवलाई दिइएकाे हाे ।

सभामुख नेत्रनाथ अधिकारीलाई ६१ हजार ४ सय ८०, उपसभामुख सिर्जना शर्मालाई ५८ हजार, विपक्षी दलका नेतालाई ५८ हजार, प्रमुख सचेतकलाई ५६ हजार ८ सय ४०, संसदीय दल सभापतिलाई ५६ हजार ८ सय ४०, सचेतकलाई ५४ हजार २ सय र सांसदलाई ५२ हजार दरले दसैं भत्ता उपलब्ध गराइएकाे अाचार्यले जानकारी दिए। स्वकिय सचिवकाे भत्ता भने फिर्ताकाे निर्णय अाएकाे छैन ।