महासंघको निर्वाचन रोक्न प्रशासनले मानेन, अदालत जाने अध्यक्ष साहको तयारी

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बेवास्ता गरेको छ । आगामी ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको साधारण सभा अवैधानिक भएको भन्दै रोक्न माग गरिएको थियो ।

महासंघकै प्रदेश २ कमिटिका अध्यक्ष शिबशंकर शाहले प्रधानमन्त्री तथा मन्पिरिषद्को कार्यालय साथै गृह मन्त्रालयलाई समेत बोद्धार्थ दिएर चुनाव रोक्न माग गर्दै सीडीओ कार्यालय काठमाडौंमा उजुरी हालेका थिए ।

उजुरी हाल्दा सीडीओ रहेका जनकराज दाहालको गृह मन्त्रालय सरुवा भइसकेको छ । सीडीओ कार्यालयले अध्यक्ष साहको उजुरीका विषयमा कारबाही नै अघि बढाएको छैन । सीडीओ कार्यालयले वास्ता नगरेपछि साह अदालत जाने तयारी गरेका छन् ।

प्रदेश २ मा रहेका साह निर्वाचन रोक्न माग गर्दै रिट दायर गर्ने सोचले काठमाडौं आउने भएका छन् । उनले आजै (सोमबार) काठमाडौं आउने र सके आजै नभए मंगलबार सर्वोच्चमा रिट हाल्ने बताएका छन् ।

भवानी राणा नेतृत्वको समितिको कार्यकाल २८ चेतमा नै सकिएको र उक्त समितिको नेतृत्वमा चुनाव गर्नु अवैधानिक हुने तर्क उजुरीमा उल्लेख छ । अध्यक्ष शाहले नयाँ तदर्थ समिति गठन गरेर चुनावी प्रक्रिया थाल्न माग गरेका छन् ।