कृषकलाई ३० हजार किलो आलुको बीउ

-



     सफल आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित



दमौली, २७ मङ्सिर । आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २०० किलो जनकदेव र एमएस ४२ जातको आलुको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु बाली विकास कार्यक्रमअन्तर्गत आलु पकेट कार्यक्रम सञ्चालनार्थ रु २४ लाख बजेट पठाएको कृषि तथा आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए ।कृषकले साढे १६ लाख व्यहोर्ने गरी रु ४१ लाखको कार्यक्रम शुरु भएको उनले बताए । “बीउबिजनको लागि कृषकसँग ५० प्रतिशत साझेदारी भएको छ”, पण्डितले भने, “तालीम र प्राविधिक ज्ञान पूर्ण निःशुल्क दिन्छौँ ।

कार्यक्रमले आलु उत्पादन बढाएर आयात घटाउने पण्डितको भनाइ छ । गत वर्ष पनि यो वडामा उल्लेख्य मात्र आलु उत्पादन भएको थियो । यसपटक त झन सरकारले नै आलुखेतीमा सघाएपछि किसान उत्साहित भएका छन् । यहाँका कृषकले सामूहिक र व्यक्तिगत तरिकाले आलुखेती गरेका छन् । “हेपिएको कृषिलाई सरकारले प्राथमिकता दिनु सकारात्मक पक्ष हो । बीउबिजन र यान्त्रिकीकरणमा पाएको अनुदानले कृषकलाई उत्साहित बनाएको छ”, उक्त वडाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले भने, “अब उत्पादन भएको आलुको बजार र मूल्यको ग्यारेण्टीका लागि पनि पहल गर्दैछौँ । चिस्यान केन्द्रसम्म लैजाने आलु ढुवानीका लागि रु दुई लाख बजेट विनियोजन गरिएको रेग्मीले बताए ।