नेकपा सरकारविरुद्ध काँग्रेसको विरोध प्रदर्शन

-



     सफल आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ मंसिर । नेपाली काँग्रेसले कम्युनिष्ट सरकारको कामकारबाहीविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाए ।

पूर्व सहमहामन्त्री समेत रहेका काँग्रेस नेता केसीले भ्रष्टाचारी मुलुकको रुपमा कम्युनिष्टहरुले चिनाएको आरोप समेत लगाए । उनले लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको आरोप पनि लगाए । नेता केसीले राणा, पञ्चायत र राजा फालेको काँग्रेसले कम्युनिष्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘अहिलेको आन्दोलन कास्टिङमात्र हो, चौथो आन्दोलनको लागि तयारी हुनुहोला।’

नेता केसीले कम्युनिष्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै आगामी चुनाव टार्ने रणनीति हुन सक्छ भन्दै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व मन्त्री यज्ञबहादुर थापा, काँग्रेसका जिल्ल सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, काँग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डे लगायतले बोलेका ।

पोखराको चिप्लेढुंगाबाट सुरु भएको काँग्रेसको प्रदर्शन पोखरा बजार परिक्रममा गरी पृथ्वीचोकमा आई विरोधसभामा परिणत भएको थियो ।

This image has an empty alt attribute; its file name is congres-kaski-4.jpg