अध्यादेश लोकतन्त्रमाथिकै चुनौती: केसी

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



पोखरा, १ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अध्यादेश लोकतन्त्रमाथिकै चुनौती भएको हुँदा काँग्रेसले कुनै हालतले स्वीकार नगर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले नीतिगत र संविधानको मूलभूत आधारभन्दा बाहिर गएर अध्यादेश आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई राज्य सत्तामा केन्द्रित गर्न खोजी मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउन खोजेको केसीले आरोप लगाए ।

काँग्रेस सत्तामा जान लालायित हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ओली सरकारको फोहोर सफा गर्न सरकारमा जानु भनेको आत्महत्या सरह हो । तर नेकपा फुटीहाल्यो भने सरकारलाई शून्यता बनाउने पक्षमा काँग्रेस छैन । सरकारमा नगई कुन पक्षलाई सहयोग गर्दा लोकतन्त्र बलियो हुन्छ, त्यसैलाई समर्थन गरी सरकार बाहिर बस्नेछ ।’

जनताले काँग्रेसलाई ५ वर्ष सत्ताबाहिर बस्न दिएको म्यान्डेट दिएका हुन, त्यही अनुसार काँग्रेस जनताको आज्ञापालन गरी बाहिर बस्ने उनले प्रष्ट पारे । सकेसम्म नेकपा मिल्नुपर्छ र जनताको म्यान्डेटअनुरूप अगाडि बढ्नुपर्छ । हामी अस्थिरता ल्याउने कारक बन्न सक्दैनौँ । यदि उहाँहरू फुटेमा जुन शक्ति लोकतन्त्रप्रति प्रतिबद्ध रहन्छ त्यसलाई समर्थन मात्र गर्छौ तर काँग्रेस रकारमा जाँदैन,’ उनले भने ।

साथै, यो बेला नेपाली कांग्रेस एकापसमा अल्झिनुभन्दा एक ढिक्का भएर सरकारको कदमविरुद्ध लाग्नुपर्ने बताए । जारी अध्यादेशविरुद्ध उनले ‘घोर अप्रजातान्त्रिक, निन्दनीय, लोकतन्त्रका आधारभूत संस्थाहरूलाई ध्वस्त पार्ने र सम्पूर्ण रूपमा पद्दतिलाई सर्वसत्तावाद उन्मुख गर्ने प्रयास’ भनेका छन् ।

प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेल पनि बोलेका थिए ।