तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



तनहुँ, ११ पुस । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व सङ्कलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको सो कार्यालयले जनाएको छ ।

पछिल्लो समय फर्म दर्ता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएका छन् । दैनिक भीड बढेसँगै पालो पाउन सकस हुने गरेको सेवाग्राहीहरु बताउँछन् । एक दिनमा सकिने काम भीडका कारण तीन दिनसम्म धाउनु परेको व्यास नगरपालिका–१ का कविता नेपालीले बताइन्।

चालू आर्थिक बर्षको साउनदेखि यता उद्योग र वाणिज्य गरी एक हजार ४१५ उद्योग दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९१५ र वाणिज्यतर्फ ५०० उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्ने बढेसँगै साउनदेखि उद्योग र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु ४० लाख राजश्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा एक हजार १३४ उद्योग दर्ता हुँदा रु ८५ लाख १९ हजार ७७५, आव ०७६/७७ मा एक हजार २७६ उद्योग दर्ता हुँदा रु ५० लाख ४६ हजार ३०० र आव ०७७/७८ मा ९१५ उद्योग दर्ता हुँदा रु २३ लाख ४० हजार ६७५ राजश्व सङ्कलन भएको उद्योग प्रशासन शाखाप्रमुख मेनका रिमालले बताए।

महिलाहरुको नाउँमा दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था रहेपछि महिलाको नाउँमा उद्योग दर्ता गर्नेहरुको सङ्ख्या बढी रहेको उनले बताए। पुरुषका नाउँमा दर्ता भएका उद्योगहरु पनि पछिल्लो समय महिलाको नाउँमा नामसारी गर्न थालेका छन् । उनले भने “राज्यबाट प्रदान गरिने अनुदान र बैकबाट कर्जा लिने व्यवस्था भएपछि महिलाको नाउँमा उद्योग दर्ता गर्ने बढेका हुन् ।” उनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाको नाउँमा उद्योग दर्ता भएका छन् ।

गत आवमा रु एक करोड पाँच लाख राजश्व सङ्कलन भएको थियो । गत वर्ष कोरोना कारण तीन महिना बस नचलेपछि करीब नौ महिना मात्रै कार्यालय खुलेका कारण राजश्वमा सोचेअनुरुप सङ्कलन गर्न नसकिएको कार्यालयप्रमुख नारायणप्रसाद ढकालले बताएकाे राससले लेखेको छ।