अस्पताल भवन निर्माणले गति लियो

-



     सफल आवाज    
     पौष १२ गते २०७७ मा प्रकाशित



गलकोट, १२ पुस । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो । पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुन थालेको छ ।

विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको थिएन । निर्माण शुरु भएको सात वर्ष बितेपछि बल्ल अस्पताल निर्माणले अन्तिम रूप लिन थालेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात बर्ष बित्दासमेत अझै सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

आगामी चैत मसान्तभित्र सबै काम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए । तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷ मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ ।