संसद विघटनविरुद्ध नेकपाको प्रदर्शन

-



     सफल आवाज    
     पौष १४ गते २०७७ मा प्रकाशित



पोखरा, १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै त्यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार पोखरामा विरोध प्रदर्शन गरेको छ ।

पोखराको चिप्लेढुंगाबाट सुरु ¥याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली अरुको सेटिङमा चल्दा आफै फसेको बताए ।

संसद विघटन गरेर आफूसहित मुलुकलाई नै अध्यारो सुरुङमा प्रवेश गराएको उनको टिप्पणी छ । संसद विघटन गर्ने कुरा ओलीले भनेजस्तो आफ्नै सेटिङमा नभई अरुको सेटिङमा भएको उनको दाबी छ । उनले भोलि तिनै सेटिङ गर्नेहरुले ओलीलाई अधिकारका निम्ति आफूहरुसँग आउने अवस्था ल्याउने टिप्पणी गरे ।

नेकपालाई भोट दिने ४५ लाखभन्दा बढी लोकतन्त्रका पक्षपातीहरु अहिले दुःखी बनेको र प्रधानमन्त्री ओलीको कदम धिक्कारी रहेको उनको ठहर छ । उनले अब संसद पुनस्थापना नहुँदासम्म आन्दोलन निरन्तर रहने जानकारी दिए ।

अर्का नेता खिमलाल देवकोटाले संविधानको चीरहरण गर्ने काम प्रधानमन्त्रीबाट भएको आरोप लगाए । उनले सरकार जन्माउन नसकेमात्र संसद भंग हुने प्राबधान रहेको बताए । गणतन्त्र नेपालमा महाराज बन्ने छुट कसैलाई नरहेको टिप्पणी गरे ।

सभामा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे उत्तम, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङ, केन्द्रीय सदस्य सीता गिरी ओली, कास्की सचिव बखानसिंह गुरुङ र नेकपाका नेता धनराज आचार्य लगायत नेताहरुले सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

आन्दोलनमा सहभागीहरुले कालोपट्टी बाँधेर ओली सरकारविरुद्ध चर्का नाराबाजी गरे । उनीहरुले नालायक सरकार राजीनामा दे, प्रतिगामी सरकारलाई असफल पारौं, नेपाल कम्युनिस्ट पार्टी नेकपा जिन्दावाद्, प्रतिगामीहरु होशियार, वीर सहिद लालसलाम, प्रतिगामी ओली होशियार, संविधान मिच्न पाइँदैन–केपी ओली चाहिँदैन लगायतका चर्का नाराबाजी गरेका थिए ।