सहकारीमाथिको नियमनमा एकरुपता हुनुपर्छ : सांसद थापा

-



     सफल आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ पुस । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले सहकारीमाथिको नियमनमा एकरुपता हुनुपर्ने बताएका छन् । संघले एउटा र स्थानिय सरकारले कार्यसमितिकाे पदावधि भिन्दै बनाउनु उचित नहुने भएकोले एकरुपता ल्याउन पहल गर्ने बताए ।

सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था र ध्रुवतारा बचत तथा ऋण सहकारी संस्था एकिकरण भई बनेको सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको आज पोखरा महेन्द्रपुलस्थित सेवा केन्द्रको एकिकृत कारोबार शुभारम्भ गर्दै थापाले उक्त कुरा बताएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि सांसद थापाले सवल, सक्षम र व्यावसायीक कारोबारका लागि सहकारीहरु एकिकृत भएर जाँदा राम्रो हुने बताए । सहकारीले छरिएर रहेको पूँजीलाई एकिकृत गर्ने, सहकारी सदस्यहरुबीच आईपर्ने सुख दुःखका काममा नजिकको सहयोगि हुने पक्ष राम्रो भएको बताउँदै सबै तहका सरकारले सहकारीलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।

संघको र महानगरको सहकारीप्रतिको नियमन फरक रहेको देखिएको छ । संघिय सरकारले चार वर्षे पदावधि रहने भनेकाे छ र महानगरले ३ वर्षे कार्यकाल रहने नियम बनाएकोमा एकरुपता देखिएन, सांसद थापाले भने, अब हाउसमा यो समस्या समाधानको लागि कुरा उठाउँछु, सहकारीमाथिको नियमनमा एकरुपता हुनुपर्छ, मेरो प्रयास रहन्छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्र बहादुर प्रजु, वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, अन्नपूर्ण सुपर मार्केटका संचालक रित बहादु थापा, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुदिप ढकाल, स्वतन्त्र पत्रकार महासंघका अध्यक्ष कृष्ण वास्तोला लगायतले सहकारीहरु मर्जरको बाटोमा गए मजबुत र सक्षम सहकारी बन्ने बताए ।

यसअघि कार्यक्रममा सहभागिलाई संस्थाका उपाध्यक्ष जगदीश गौतमले स्वागत गरेका थिए । सचिव सरीता तिम्सिना पगेनीले सहजिकरण गरेको कार्यक्रम सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।