हार्ने चुनाव ओलीले गर्दैनन् : डा. भट्टराई

-


     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित


पोखरा, २९ पुस । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले नगर्ने ठोकुवा गरेका छन् । डा. भट्टराईले भने, ‘ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाए । उनीविरुद्धको लडाइँमा हिम्मत नहारौं ।’पोखरामा जनता समाजवादी पार्टीले बुधबार आयोजना गरेको विरोध सभामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले सो कुरा बताएका हुन् । 

२९ वर्ष लडेर सहीद भएर ल्याएको लोकतन्त्र धरापमा पारिएको भन्दै उनले भने, ‘अहिले आएर किन जनयुद्ध लडिए, किन हाम्रा आफन्त तथा साथीभाइ सहिद भएछन् भन्ने दिन आएको छ ।’उनले विघटित संसद पुनःस्थापना गर्न संघर्षका लागि एकजुट हुन आग्रह गरेका छन् । अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोप लगाएका छन् । 

ओलीले बैशाखमा निर्वाचन पनि नगर्ने उनले दाबी गरे । र, हार्ने चुनाव ओलीले नगर्ने बताए । अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने उनले कार्यक्रममा बताए । यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने उनले दावी गरेका छन् ।पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभालाई अनुचित तरिकाले नामजस्तै प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेको बताए ।कोरोनाले आर्थिक संकटमा फसेका समयमा ओलीले जनताको आवाज सुन्नुपर्छ कि भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको आरोप राईको थियो ।

यस्तै, केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले हिमाल पहाड तथा तराईका पछाडि पारिएकाहरुको पार्टी जनता समाजवादी पार्टी भएको बताए । उनले नेपाल तथा नेपालीको भविष्यका लागि आफूहरुको पार्टी भएको दाबी गरे ।