संसद पुनःस्थापना हुनुपर्छ: वरिष्ठ नेता पौडेल

-



     सफल आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित



पाेखरा, ३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्थिरताको भुमरीबाट बचाउन संसद पुनस्र्थापना हुनुपर्ने बताएका छन् । उनले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले पनि देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिए । जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनको आरोप थियो ।

उनले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताउँदै चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ भने ।