कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर

-



     सफल आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित



दमौली, ६ माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन कृषि उपज सङ्कलन केन्द्रमा नगरवासीलाई शेयर प्रदान गरिने भएको छ । साझा सहकारीको जग्गामा निर्माण हुँदै गरेका केन्द्रमा नगरपालिकाका सबै घरधुरीलाई शेयर प्रदान गर्न लागिएको हो । यसका लागि नगरपालिकाको आठौँ नगरसभाले कृषि उपज सङ्कलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित गरेको छ ।

सोमबार सम्पन्न नगरसभाले सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनाएको नगरप्रमुख किसान गुरुङले जानकारी दिए । उनका अनुसार केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नगरवासीको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी निर्देशिका बनाइएको छ । रु पाँच करोड १८ लाखको लगानीमा कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण भइरहेको छ । नगरसभाले चालु आर्थिक वर्षमा बजेटमा समावेश नीति तथा कार्यक्रमको रकमान्तरसँगै योजना संशोधन गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यासअनुसार अगाडि बढ्ने निर्णय भएको प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए । यसका लागि बोलपत्र परे पनि अख्तियारमा उजुरी परेपछि कार्यान्वयन हुनसकेको छैन । नगरपालिकाले सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधानका आयोगको लागि बजेट रकमान्तर गरेको छ । लक्षित वर्गअन्तर्गत विनियोजित आदिवासी जनजाति, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकमबाट रु २० लाख आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।

रु ५८ करोड पाँच लाख बराबरको संशोधित बजेट पारित

संशोधित बजेट पारित जिल्लाको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि संशोधित कार्यक्रम तथा बजेट पारित गरेको छ । सम्पन्न आठौँ गाउँसभाले चालु आवका लागि रु ५८ करोड पाँच लाख बराबरको संशोधित बजेट पारित गरेको हो । चालु आवमा सञ्चालन हुन नसकेका योजनाको बजेट कटौती गरिएको छ ।

गाउँसभाले दृश्यावलोकन स्तम्भका लागि विनियोजित रु १० लाख, राहतका लागि रोजगार कार्यक्रमका लागि विनियोजित रु २० लाख बजेट खर्चबाट कटौती गरी आम्दानीमा समावेश गरेको छ । त्यस्तै ढुङ्गा गिट्टीबाट रु एक करोड आम्दानी हुने अनुमान गरिएकामा उक्त आम्दानी रु एक करोड ५५ लाख हुने प्रक्षेपण गरिएको छ ।

गाउँसभाले जिल्ला कारागार कार्यालयमा कैदीबन्दीका लागि खाट व्यवस्थापनका लागि रु एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा आइसक्दा पनि आवधिक योजना निर्माण हुन नसकेकाले आवधिक योजना निर्माण गर्न लागिएको जानकारी दिए । उनले गाउँपालिकामा बेरुजु समस्या देखिएकाले आफूहरूको कार्यकालमा बेरुजु शून्य बनाउने लक्ष्य राखिएको सो अवसरमा बताए ।