
चरीकोट, ११ माघ । सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनकाे तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिए ।
विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताए । कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ ।
१० हजार मतदाता वृद्धि डडेल्धुरामा
डेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ । विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।
तस्वीरसहितको मतदाता नामावली सङ्कलन
डोटीमा जिल्लामा तस्वीरसहितको मतदाता नामावली सङ्कलन शुरुआत भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।” आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए ।
कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



