पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश

-



     सफल आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित



पोखरा, ३० चैत । पोखरा जेसीज ४६ औ वर्ष पूरा गरी ४७ औ वर्षमा प्रवेश गरेको छ ।
सन् १९७५ मा स्थापित भई सक्रिय युवा नागरिकहरुलाई विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवासँग समाहित गर्दै युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास गरी समाजमा योग्य नागरिक स्थापित गर्न पोखरा जेसीज सक्षम रहेको छ ।

प्रमुख अतिथि पोखरा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने, एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने बताए ।

उनले अग्रजहरुले देखाएको बाटोमा अगाडि बढ्दै समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भनी बताए ।

पोखरा जेसीजका पूर्व अध्यक्ष तथा पोखरा ३ का वडाध्यक्ष रविन्सन प्रजुले पोखरा जेसीज पहिले जस्तै उत्तिकै क्रियाशील र यहाँका आमयुवालाई अग्रसर बनाउँदै लगेकोमा खुशी व्यक्त गरे ।

उनले पोखरा जेसीजले अब फरक खालको काम गरेर देखाउनुपर्नेका जोड दिए ।

नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआइ सिनेटर रविन्द्र गुरुङले जेसीजको आस्थाप्रति पूर्ण प्रतिबद्ध रहेर लागेमा सफल भईने उल्लेख गरे ।

पोखरा जेसीजका अध्यक्ष ई. किरण केसीले युवाहरुको क्षमता अभिवृद्धिमा जेसीजले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले उद्देश्य प्राप्तिमा सदस्यहरु अनुशाषित भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा छिमेकी शाखा अध्यक्षको तर्फबाट पोखरा लेडि जेसीजका अध्यक्ष जेसी विनिता सापकोटा, कर्पोरेट पार्टनरको तर्फबाट बबिन टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक बबिन बग्दास, नेपाल जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशन संयोजक जेसीआइ सिनेटर ईश्वरप्रसाद कर्माचार्य लगायतले बोलेका थिए ।

पोखरा जेसीज वर्ष २००९ का अध्यक्ष विशेश्वर आचार्य लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रीक्ट ३२५ बि १ को नवौं महाधिवेशनबाट डिष्ट्रीक्ट गभर्नरमा निर्वाचित भएकोमा उनलाई सम्मान गरिएको थियो । संस्थाले दिवसको अवसर पारेर वर्ष २०२१ का कर्पोरेट पार्टनरलाई साझेदारीको चिनो प्रदान गरेको छ ।