साताको अन्तिम कारोबारकाे दिन नेप्से ८.५७ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्सेले शुक्रबार पनि सोही गिरावटलाई निरन्तरता दिएको हो ।

शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा झरेको छ । नेप्सेसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक, फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंकले घटेका छन् ।

कारोबार रकममा संकुचन

परिसूचकसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ३५३ स्टकको ४२ हजार ८२१ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ ।

शीर्ष कमाउने र गुमाउने शेयर

शुक्रबार मूल्य समायोजन भई कारोबार खुलेको एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ । त्यसैगरी, माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी र बेष्ट फाइनान्सको शेयरमूल्य करिब साढे ४ प्रतिशतले वृद्धि भएको छ । अर्कोतर्फ, कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनी

कारोबार रकमका आधारमा शुक्रबार लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ, जसको २४ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन उर्जा विकास कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये शुक्रबार दुई उपसमूहको परिसूचक मात्र बढेको छ भने ११ उपसमूह राताम्य भएका छन् । बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले उक्लिएको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६७.४३ अंकले घटेको छ ।