नेपाल पुनर्बीमा कम्पनीले करिब १७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, पुस ६ मा एजिएम

-



     सफल आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ११ मङ्सिर। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चुक्ता पूँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउने प्रयोजनका लागि हाल कायम चुक्ता पूँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।

कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत सेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट सहमति प्राप्त भएको छ । सोही सहमतिअनुसार चालु आर्थिक वर्षमा सरकारको तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।

यसैबीच, कम्पनीले आगामी पुस ६ गते वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । उक्त सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

मुख्य विवरण सारसंक्षेप

  • हकप्रद सेयर दर: १६.९१७६ प्रतिशत
  • लक्ष्य चुक्ता पूँजी: २० अर्ब रुपैयाँ
  • सरकारी लगानी सुनिश्चितता: १ अर्ब रुपैयाँ (४४.०३९०% स्वामित्व यथावत रहने गरी)
  • साधारण सभा मिति र समय: पुस ६ गते, बिहान ९:०० बजे
  • सभा स्थान: कार्की ब्याङ्केट, बबरमहल, काठमाडौं