कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्ड मर्मत गरिँदै

-



     सफल आवाज    
     वैशाख ५ गते २०७८ मा प्रकाशित



बागलुङ, ५ वैशाख । कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल दश किलोमिटर खण्ड मर्मतको काम शुरु गरिएको छ ।

नेपाली सेनाले ट्रयाक खोलेर कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम शुरु गरिएको हो ।

चैतको दोस्रो सातादेखि शुरु भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले करिडोर मर्मतको काम थालेको हो । मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म पहिराका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । करिडोरमा खसेको पहिरो पन्छाउने काम शुरु गरिएको इन्जिनीयर सुरेन्द्र गौतमले बताए ।

दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभागअन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । दश किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ ।

ट्रयाक खुला भएका सडक बाह्रै महिना चलून् भन्ने हो, इन्जिनीयर गौतमले भने, अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो

विभागले ५ करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरु गरिएको गौतमले बताए ।

लामा÷आइएस÷एसी जेभीले करिडोर मर्मतको जिम्मेवारी लिएको छ । २ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउने छ । १३ हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र एक हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ ।

योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटर्निङ वाल, कङ्क्रिट वाल र सडकमा रहेका ढुङ्गामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ ।