पूर्वतयारी भए विपद्काे प्रभावकारी प्रतिकार्य गर्न सकिने : गुरूङ

-



     सफल आवाज    
     वैशाख १२ गते २०७८ मा प्रकाशित



गण्डकी, १२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्र विपद्लाई सफलतापूर्वक सामना गर्न प्रभावकारी प्रतिकार्य गर्न सकिने बताए ।

भूकम्प स्मृति दिवसका अवसरमा आज जारी सन्देशमा उनले गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे गएको भूकम्पका र त्यसपछिका पराकम्पका कारण देशले ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन् ।

उक्त कहालिलाग्दो दिन र त्यसपश्चात् सिर्जना भएको भयावह अवस्थाको दुःखका साथ स्मरण गर्दै भूकम्पमा परी आफ्नो अमूल्य जीवन गुमाउनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनले परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाहरुको सहज जीवनको कामना गरेका छन् ।

भूकम्पपछि सिङ्गो देश उच्च आत्मबल र धैर्यता बटुलेर एकापसमा सहकार्य र सहयोगको भावनाका साथ उद्धार, राहत र पुनःनिर्माणको अभियानमा जुटेको इतिहास स्मरण गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा सङ्कटका अवस्थामा एकजुट हुने हाम्रो असल परम्परालाई निरन्तर कायम राख्नु आजको दिनले सबैलाई उच्च प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

भूकम्प पछिको राहत, उद्धार, पुनःर्निर्माण तथा पुनःस्थापनाका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पु¥याउने छ भन्ने विश्वाससमेत लिएको सन्देशमा उल्लेख छ ।

यतिबेला विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती बनेको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकायहरु यसको रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमता र धैर्यताका साथ लाग्नुहुन अनुरोध गर्दै मुख्यमन्त्री गुरुङले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हेलचक्र्याइँ नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी सतर्कता अपनाउनु हुनसमेत अपिल गरेका छन् ।