गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा बिखर्ची

-


     सफल आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित


पोखरा, १९ वैशाख । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची नियुक्त भएका छन् । भाषा, साहित्य, संस्कृति, कला, नाट्यकला, संगीत लगायतको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यसाथ गठित प्रतिष्ठानको पहिलो कुलपतिमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिखर्चीलाई नियुक्त गरेका हुन् ।

यस्तै उपकुलपतिमा गोरे गुरुङ, सदस्यसचिवमा मनकुमार श्रेष्ठ नियुक्त हुँदा कार्यकारिणी समिति सदस्यमा सुरेन्द्र गुरुङ, कृष्णप्रसाद पौडेल, डीलकुमारी पौडेल, देवकी आचार्य छन् । प्राज्ञ सभा सदस्य लोकबहादुर थापा, एञ्जिला गौचन र देउकुमारी महतो थारु टण्डन नियुक्त भए ।

प्रतिष्ठानको पदाधिकारीका लागि प्रदेश सरकारले यसअघि सार्वजनिक रुपमै दरखास्त आह्वान गरेकोमा ६० जनाले दरखास्त दिएका थिए । तीमध्ये सिफारिस समितिले ३० जनाको नाम सिफारिस गरेको थियो ।

सामाजिक विकास मन्त्री नरदेवी पुन संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य थिए ।

कुलपतिमा नियुक्तपछि बिखर्चीले प्रज्ञा प्रतिष्ठान खासगरी भाषा, कला, साहित्य, संगीत, ज्ञानविज्ञानको उन्नति गर्ने थलो भएको उल्लेख गर्दै आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालकै नमुना प्रज्ञा प्रतिष्ठान बनाउने आफ्नो योजना रहेको बताए । २०२५ सालदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील बिखर्चीका ५३ पुस्तक बजारमा आइसकेका छन् । उनको जन्म २०१३ सालमा मनबहादुर खड्का र कृष्णाकुमारी खड्काको सन्तानको रुपमा कास्कीको रुपाकोटमा भएको हो । उनी साहित्यकारको सम्मान जिवित छँदै हुनुपर्ने मान्यता राख्छन् ।

यसअघि प्रदेश राजधानी पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठानमा पदमराज ढकाल कुलपति नियुक्त भइसकेका छन् ।