जनमोर्चाको ह्वीपबारे दलका नेता नै अनविज्ञ

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



पोखरा, २७ वैशाख । नयाँ सरकार गठनमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई सघाउन राष्ट्रिय जनमोर्चाले जारी गरेको ह्वीपबारे दलका नेता नै अनविज्ञ छन् । पार्टी सचेतक पियारी थापाले सोमबार जारी गरेको ह्वीपबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

यसबारे सोधिएको जिज्ञासामा दलका नेता कृष्ण थापाले भने, ‘म अलि व्यस्त छु । खै के भएको हो थाहा भएन ।’

३ सदस्य रहेको जनमोर्चाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेको हो ।

संसदमा मतविभाजनको अघिल्लो दिन आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् ।

२ दिन बितिसक्दा पनि निर्णायक मानिएको जनमोर्चाको संसदीय दलको बैठक बसेको छैन । एक्कासी सचेतक थापाले माथिको निर्देशन भन्दै ह्वीप जारी गरेकी हुन् ।

कुराकानीमा दलका नेता कृष्ण थापाले ‘अब भोलि (मंगलबार) दिउँसो १ बजेसम्म निर्णय दिनेछौं । आज बैठक बस्न सकेन’ भनेका थिए ।

सचेतक पियारी थापा नयाँ सरकार गठनका लागि लागिपर्दा संसदीय दलका नेता कृष्ण थापा र खिमविक्रम शाही अहिलेकै सरकारलाई सघाउन लचिलो देखिँदै आएका छन् ।

गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् ।