७ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ नेपाल राष्ट्र बैंकले ७ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउनका लागि ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ’ञ’ बिक्री गर्न लागिएको बैंकले जनाएको छ । उक्त ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री हुनेछ ।

ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । यो प्रक्रियामा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धी खरिदकर्ताका लागि निष्कासित रकमको ८५ प्रतिशतले हुन आउने ५ अर्ब ९५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशतले हुन आउने १ अर्ब ५ करोड छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ।

बैंकले इच्छुक लगानीकर्ताका लागि भोलि माघ २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्न समय छुट्याएको छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्र यही पर्सि माघ २५ गते बुधबार निष्कासन गरिने र २०८४ माघ २५ गते साँवा भुक्तानी हुने बैंकको भनाइ छ।

विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिने राष्ट्र बैंकले जनाएको छ।