नीतिगत दर ७ प्रतिशतमा झर्यो, निक्षेपको ब्याज घट्ला?

-



     सफल आवाज    
     माघ २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा आज सम्पन्न गरेको छ । अर्धवार्षिक समीक्षामार्फत नीतिगत दर घटाइएको छ । राष्ट्र बैंकले हालसम्म बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशत दरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा अब भने ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था समीक्षामार्फत गरिएको हो ।

बिहीबार मात्र नेपाल बैंकर्स संघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा नीतिगत दर नघटे निक्षेपको ब्याज नघटाउने निर्णय गरेका थिए । यस हिसाबले नीतिगत दर घटेकाले निक्षेपको ब्याजदर घट्ने र त्यसबाट बैंकहरुको दायित्व केही घट्न गई कर्जामा लिइराखेको ब्याजमा पनि केही कमी हुने आकलन गर्न सकिन्छ ।

यसैगरी समीक्षामा २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा-ब्याज दायित्व भाखा नाघेको १ महिनाभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ ।

साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरिएको छ ।

यसबाहेक कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यासको आधारमा पुनरावलोकन गर्ने व्यवस्था आज आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएको छ ।