रास्वपा दर्ता खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता नै खारेजी गर्न माग गर्दै निवेदन परेको छ । आज निर्वाचन आयोगमा युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बेला कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दावी गर्दै निवेदन दर्ता गराएका हुन् ।

उनले आज दर्ता गराएको निवेदनमा भनिएको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा ९च० को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२०को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो।’

युवराज सफल पौडेल तिनै हुन् जसले रवि लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दिएका थिए । सोही उजुरीमा छानबिन हुँदा अभियोग पुष्टि भएपछि लामिछाने तत्कालीन उपप्रधान तथा गृहमन्त्रीबाट अपदस्थ भएका थिए ।

पौडेलले आफ्नो उजुरीमा पार्टीले दर्ता हुनको लागि पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पूरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरेका छन् ।