सुरक्षण मुद्रण केन्द्रबाट मासिक ६२ हजार स्मार्ट लाइसेन्स छपाइ

-



     सफल आवाज    
     मंसिर १२ गते २०८३ मा प्रकाशित



काभ्रेपलाञ्चोक, १२ मङ्सिर। पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)बाट मासिक सरदर ६२ हजार थान क्यूआर कोडसहितको स्मार्ट चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भइरहेको छ । केन्द्रले देशभरका यातायात व्यवस्था विभाग तथा मातहतका कार्यालयबाट प्राप्त विवरणका आधारमा नियमित रूपमा लाइसेन्स छपाइ गरिरहेको हो ।

केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षको साउन महिनायता मात्र दुई लाख ५० हजार थान स्मार्ट लाइसेन्स छपाइ भइसकेको छ । यातायात कार्यालयहरूबाट इमेलमार्फत प्राप्त ‘डेटा’ र छपाइ आग्रहका आधारमा दैनिक छपाइ कार्य भइरहेको तथा परिमाणअनुसार सम्बन्धित कार्यालयबाटै भुक्तानी हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

हालसम्मको छपाइ प्रगति

केन्द्रले क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु गरेदेखि गत असार मसान्तसम्म कुल २७ लाख ४७ हजार थान लाइसेन्स छापेर सम्बन्धित कार्यालयहरूमा पठाइसकेको छ । नयाँ छपाइसँगै केही संख्यामा पुराना (ब्याकलग) लाइसेन्सको छपाइ पनि सँगसँगै भइरहेको उपसचिव तिमिल्सिनाले बताए ।

चरण / अवधिसम्झौता मितिछपाइ परिमाणअवस्था
पहिलो चरण२०८२ कात्तिक १२१२ लाख थाननिर्धारित समयअघि नै सम्पन्न
दोस्रो चरण२०८३ वैशाख ४१५ लाख ४७ हजार थानअसार मसान्तसम्म सम्पन्न
चालु आ.व. (साउनयता)नियमित प्रक्रिया२ लाख ५० हजार थानछपाइ जारी (मासिक सरदर ६२ हजार)

हुलाक टिकट छपाइ र पूर्वाधार विस्तार

स्मार्ट लाइसेन्सबाहेक केन्द्रले गत आर्थिक वर्षमा हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकटसमेत छपाइ गरेको थियो । हाल केन्द्रमा ९ जना इन्जिनियर र १६ जना अन्य प्राविधिक गरी २५ जना जनशक्ति परिचालित छन् ।

यसैगरी, केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि पार्क (आईटी पार्क) का लागि निर्माण गरिएका भौतिक पूर्वाधार लामो समय प्रयोगविहीन बनेपछि करिब ६ वर्षअघि तत्कालीन सरकारले त्यसलाई सुरक्षण मुद्रण केन्द्रमा रूपान्तरण गरेको थियो ।

केन्द्रबाट राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टीकर र सिमकार्डलगायतका संवेदनशील तथा सुरक्षित सामग्री छपाइ गर्न सकिने क्षमता रहेको छ ।