स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रको अवधि ५ वर्ष हुने र यसमा वार्षिक १०.३० प्रतिशतका दरले ब्याज दिइने बताइएको छ । यसको नाम ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ रहेको छ ।

निष्कासन गरिएकोमध्ये ६० प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्ता बराबरको १ अर्ब ४० करोड ऋणपुजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपुँजी रकम सर्वसाधारणको लागि रहने बैंकले जनाएको छ ।

सर्वसाधारणको लागि छुट्ट्याइएको ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । हाल निष्कासित ऋणपत्रका लागि सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको ऋणपत्रमा आवेदन दिने शुरुवाती म्याद आगामी फागुन १ गतेका लागि तोकिएको छ । उक्त अवधिसम्म माग अनुसार पर्याप्त आवेदन नपरेमा यो म्याद फागुन ११ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ ।