
२६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट सम्बन्धमा परेको जाहेरीमा अनुसन्धान सुरु गरिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका जाहेरीका आधारमा एकैपटक ३ वटा निकायबाट कागजात मगाएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंका एक सरकारी वकिलका अनुसार आजमात्रै निर्णय गरेर जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागमा लामिछानेको बारेमा विस्तृत विवरण मगाइएको छ । युवराज पौडेल सफलले दिएको जाहेरीको सत्यता के हो, जाहेरीमा उल्लेख भए अनुसारको सत्यता हो कि होइन भन्ने परीक्षण हुने र ३ वटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइने उनको भनाइ छ ।’
केही दिनअघि जिल्ला प्रहरी परिसर, काठमाडौंले लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकोमा उक्त कार्यालयले जाहेरीमा उल्लेखित व्यहोरासँग सम्बन्धित कागजात र अरु विवरण मगाएको हो ।
लामिछानेले २०५० साल फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले सन् २०१४ फेब्रुअरी २१ अर्थात् २०७० साल फागुन ९ गते अमेरिकाको नागरिकता लिए । अमेरिकाको नागरिकता पाएपछि सन् २०१५ मे ११ अर्थात् २०७२ साल वैशाख २८ गते नेपाल फर्किएर जेठ १३ गतेमा नेपाली पासपोर्ट लिएको पाइएको छ ।
लामिछानेले अमेरिकाको नागरिकता नत्यागी नेपाल फर्किएको पाइएको छ । सर्वोच्च अदालतले विदेशको नागरिकता लिनेहरुको नेपाली नागरिकता कायम नरहने व्याख्या गरेकाले ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर लामिछानेले नेपाली पासपोर्ट लिएकोले उनीमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।
करिब ३ वर्ष १ महिनासम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट साथमा राखेका र २०७५ जेठ ४ गते अमेरिकी नागरिकता त्याग्ने निवेदन दिएर ४० दिनपछि उक्त प्रक्रिया पूरा भएको पत्र लिएका थिए ।
सरकारी वकिलको कार्यालयका अनुसार राहदानी विभागमा २०७२ साल वैशाख २८ गते लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएको हो कि होइन भनी सोधिएको, जिल्ला प्रशासन कार्यालयमा २०७२ साल वैशाख २८ गते लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र कायम थियो कि थिएन तथा अध्यागमन विभागलाई २०७२ साल वैशाख २८ गते लामिछानेले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएपछि विदेश भ्रमण गरे/नगरेकोबारे विवरण माग गरेको हो ।






काठमाडौं, १० मङ्सिर । आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यलाई…
काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको… 



