पार्टीको नाम र चुनाव चिह्न फेर्दै माओवादी केन्द्र

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम र चुनाव चिह्न बदल्ने निष्कर्षमा पुगेको छ । माओवादीको स्थायी कमिटी बैठक यही माघ १२ देखि २१ माघसम्म बसेको थियो । उक्त बैठकमा पार्टीको नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेका थिए । उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भएको थियो ।

अध्यक्ष प्रचण्डले संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्ने बताउँदै उक्‍त प्रस्ताव पेश गरेका थिए । यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरिएको छ ।

प्रस्तावमा विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने उल्लेख छ । ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ’ प्रस्तावमा भनिएको छ ।