निक्षेपको ब्याजदर हेरफेरका लागि शुक्रबार आउने मौद्रिक नीतिको समीक्षा कुर्दै बैंकहरु

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ माघ । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने वा नघटाउने भन्ने भोलि शुक्रबार आउने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा निर्भर रहने भएको छ । बैंकहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नीतिगत दरहरु नघटाए निक्षेपको ब्याजदर नघटाई यथावत नै राख्ने निर्णय गरेका छन् ।

आज बिहान बसेको नेपाल बैंकर्स संघको बैठकमा मौद्रिक नीतिमा नीतिगत दरहरु नघटे निक्षेपको ब्याज दर यथावत राख्ने सहमति भएको बताइएको छ । यस हिसाबले माघमा बैंकहरुले मुद्दती निक्षेको ब्याजदर घटाएर ११ प्रतिशत कायम गरेकामा नीतिगत दर नघटे फागुनमा पनि सोही ब्याजदरले निरन्तरता पाउने आकलन गरिएको छ ।

बैंक प्रत्येक महिनाको अन्तिम दिन आउने महिनाका लागि ब्याजदर तोक्नुपर्ने हुन्छ । आज २६ गते भएको र माघ महिना २९ गतेको भएकाले बैंकर्स संघले आजै बिहान ब्याजदरबारे छलफल गर्न बैंठक डाकेको हो । सोही छलफलमा बैंकरहरुले ब्याजदर यथावत नै राख्ने सहमति गरेका हुन् । आजै निर्णय भइनसके पनि मौद्रिक नीतिको समीक्षामा नीतिगत दरहरु नघटे बैंकको ब्याजदर पनि यथावत नै राख्ने सहमति भएको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैछ । उक्त समीक्षामा ब्याजदर घटाउने नीति लिए बैंकहरुले ब्याजदर घट्न सक्ने र नघटाए निक्षेपमा पनि यथावत् राख्ने सहमति भएको हो ।